आरती अर्याल , कपिलवस्तु
ढुङ्गे युगलाई फोर्दै, पंक्षीका खुट्टामा सन्देश बोकाएर पठाउने काल्पनिक युगलाई पार लगाउदै,हस्तलिखित चिठीको युगमा पानाहरु कोर्दै,हामी आजको यो २१ औं अर्थात प्रविधिको युगमा आईसकेका छौं । प्रविधि अर्थात व्यवहारिक तथा औधोगिक कलाहरु र प्रयुक्त विज्ञानशीत सम्बन्धित अध्यन अथवा विज्ञानको समूह हो। आदिकाल देखि अहिलेको आधुनिक सभ्यताको विकासमा प्रविधिको ठूलो योगदान छ।समयानुकूल प्रविधिको विकास तथा उपभोग गर्ने देशहरुको शैक्षिक,आर्थिक लगाएत सामाजिक क्षेत्रमा प्रगति भएको देखियता पनि विकसित मुलुक र विकासशील रास्ट्रबीच प्रविधीको उपभोगको अवस्था ज्यादै भिन्न छ।
प्रविधिको सहायतामा विश्व नै साँघिरिदै गएर एउटा भूमण्डलीय ग्रामको रुपमा विकास भईरहेको बेला कतै यहि प्रविधिले आत्मीय रुपमा हामीलाई टाढा त बनाइरहेको छैन? प्रविधिको असन्तुलनीय प्रयोगले कतै प्रविधि अभिशाप त सावित भईरहेको छैन?कुनै पनि प्रविधी कुनै पनि अवस्थामा खराब हुन सक्दैन, तर जब हाम्रो बिचारमा खराबी आउन थाल्छ हरेक आविष्कारले हामीलाई विनाशतर्फ उन्मुख गराउँद छ। आज हामी जस्ता अल्पविकसित रास्ट्रहरुका नागरिकलाई प्रविधिको सहि अर्थ थाहा हुन नसक्दा र सदुपयोग गर्न नजान्दा हामीलाई प्रविधिले एकअर्कासँग टाढा बनाइरहेको आभाष मैले गरिरहेकी छु।
म सम्झन्छु,म कक्षा ३-४ मा पढ्दा हामी गाउँभरिका साथीभाइ जम्मा भएर लुकामारी खेल्थ्यौ,भाँडाकुडि खेल्थ्यौ।तर अहिले त्यो उमेरका केटाकेटीलाई लुकामारी,भाडाकुडी एकादेशका कथा बनेका छन। स्कुलबाट आएर झोला बिसाउन नपाउँदै हातमा मोबाईल समात्दै PUBG र FREEFIRE मा व्यस्त हुन थाल्छन। २ वर्षको छोरो खाना नमान्दा अभिभावकले उसलाई मोबाइल हातमा थमाइदिएर फकाउछन। के ती अभिभावक त्यो बालकलाई पर्ने शारीरिक, मानसिक असरका बारेमा अनविज्ञ छन ? प्रविधिको सहजता भएका र प्रयोग गर्न जान्नेहरु एकअर्कासँग सहजै जोडिएका छन भने उपलब्धता नहुनेहरु एक्लो संसारमा हराउन बाध्य छन । यसले वर्ग भिन्नताको खाडललाई समेत प्रष्ट देखाइदिएको छ। यसले वैमनस्यता समेत पैदा गराइदिएको छ।
प्रविधिका कारण नै म मेरो जापानमा रहनु भएको दाजुसँग प्रत्येक्ष जोडिन त पाइरहेकी छु तर घर जोडिएकी अन्टीसँग भने मेरो खासै चिनजान छैन। घरमा पाहुना आएर सञ्चो विसञ्चो गर्नु पुर्व घरमा नेट छ छैन भनेर सोध्ने परम्परा नै आइसक्यो। केटाकेटीहरु मावलमा WIFI छ भने मात्र जान्छौ भन्न थालिसकेका छन। Google र wikipedia मा सबै कुरा खोजेर मै जान्ने बनेका छौ । खोज्नु पढ्नु राम्रो हो तर त्यसैको भरमा आफ्ना गुरु र senior लाई भने आदार गर्नुपर्छ भन्ने बिर्सिसकेका छौ।जसकारण गुरुचेलाको सम्बन्धमा समेत दुरि बन्दै गईरहेको छ।प्रविधिको सहि प्रयोग गर्न नजान्दा दिनहुँ सयौं युवायुवतीले आत्महत्या गर्नु परेको छ। सामाजिक सञ्जालमा भाइरल हुने लालचमा मानवजातिले संवेदनशीलता नै गुमाइसकेका छौ । आफ्नै गाउँका साथीसँग खासै चिनजान छैन तर हजारौं माइल परका साथीसँग हामी भावना साटिरहेका छौं ।मानव मानव बिच सामाजिक दुरि बन्दै गईरहेको छ र प्रविधी पर्खाल बनेको छ।
अन्ततः मान्छे एउटै सिरक ओढेर पनि फरक व्यक्तिहरुसँग रोमाञ्स गरिरहेको कुराले असमाजिक बनिरहेको बिल्ला झुण्डाएपनी यस्ता केहि कुरालाई पन्छाएर हेर्ने हो भने प्रविधिको पनि सुन्दर आकृति देखिन थाल्छ।प्रविधिले कसैलाई टाढा बनाउदैन,टाढा वा निकट मान्छे भावनाले हुन्छ र भावना साट्ने अहिलेको माध्यम नै प्रविधि बनेको छ ।मात्र यसको दुरुपयोगले हामीलाई टाढा बनाएको हो।त्यसैले प्रविधिको सदुपयोग गरौं,सामाजिक बनौं ।