
बिष्णु मिजार
विगत वर्षहरूमा जस्तै यसवर्ष पनि “विपतमा बालअधिकारको सुनिश्चितता -हामी सबैको साझा प्रतिबद्धता ” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर यस वर्ष पनि बालदिवस मनाइरहेका छाै। बालबालिकाको पर्वको रूपमा मनाइने बालदिवसको नारा र त्यसको सार्थकता बहसको विषय बन्दै आएको छ । नेपालमा विभिन्न दिवसहरू आकर्षक नाराका साथ मनाउने तर पछि ती नारा बेवारिसे बन्ने अनौठो विषय भएन । बालबालिकाहरुको हक र हितको लागि यो दिवस मनाउने गरिन्छ । तर यस वर्ष पनि नारा मा भनिए जस्तो हुन सकेको अवस्था छै। यो वर्ष त झन् कोरोना को महामारी ले बालबालिका त्यसको प्रत्येक्ष असरमा परेका छन् ।
यसै दिनमा बालबालिकासँग सरोकार राख्ने विभिन्न कार्यक्रमकासाथ राष्ट्रिय बालदिवस मनाउने गरिएको छ । बालश्रम, बाल विवाह, बढ्दो सडक बालबालिका, बाल दुव्र्यवहार, यौनशोषण तथा दुव्र्यवहार, विद्यालय शिक्षामा पहुँच र ड्रपआउट, बालमैत्री विद्यालय तथा बालबालिकासम्बन्धी कानुनको समयानुकुल परिष्कृत र परिमार्जन आदि बालबालिकाको क्षेत्रमा देखिएका जल्दाबल्दा मुद्दाहरू हुन् । बालबालिकाको संरक्षण र बालअधिकार सुनिश्चतताको लागि अनेकौँ सरकारी गैरसरकारी संघसंस्था क्रियाशील रहेता पनि राम्रो उपलब्धी हासिल हुन सकेको छैन् । तथापि विभिन्न सरकारि तवर बाट विभिन्न निकाय स्थापना भएको भए पनि पर्याप्त र प्रभावकारी नभएको वास्तविकता हो । फितलो अनुगमन, निरीक्षण तथा पुरस्कार र दण्डको प्रभावकारी व्यवस्था नभएको कारण अबोध बालबालिकाको नाममा सञ्चालित कतिपय कार्यक्रम कमाई खाने माध्यम मात्र बनेका छन् ।
। राजनीतिक आन्दोलन, चुनाव आदिमा बालबालिकाको प्रयोग लाजमर्दो किसिमले भएको छ । यस्ता गैरजिम्मेवार गतिविधिका कारण बालअधिकार जोखिममा परेको छ । पढ्ने लेख्ने र खेल्न रमाउने बेलाका बालबालिकालाई कोलाहालपूर्ण आन्दोलन, कर्फ्यु, आक्रमण, प्रतिकार जस्ता त्रासादीपूर्ण घटनाको प्रत्यक्षदर्शी बनाइनु आफैँमा जघन्य अपराध हो । आन्दोलमा बालबालिका प्रयोग साँढेको जुधाई र बाछाको मिचाई भएका छन् । विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट निस्कलंक राख्न वर्तमान परिवेशमा हम्मेहम्मे परेको छ ।
नेपालको संविधानमा बालबालिकाका लागि व्यवस्था गरिएका मौलिकहकहरू निर्वाधरूपमा कार्यान्वयन भएमा बालअधिकारको उदाहरणीय सुनिश्चितता हुन्थ्यो । वर्तमान संविधानले परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद मनोरञ्जन तथा सर्वाङ्गिण विकासलाई विशेष जोड दिएको छ । असहाय, अनाथ, अपांगता भएका द्वन्दपीडित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउनेलगायत धेरै आकर्षक मौलिक हक बालबालिकाको लागि वर्तमान संविधानमा व्यवस्था गरिएको छ ।
बालबालिकाले धेरै समय बिताउने प्रमुख ठाउँ घरपरिवार र विद्यालय भएकोले प्रथमतः त्यहाँको वातावरण बालमैत्री र बालअधिकारको सम्मान लायक हुनुको विकल्प छैन् । बालबालिकाको समग्र विकासको निम्ती विद्यालयको वातावरण शान्त, सुरक्षित र रमाइलो हुनु अपरिहार्य हुन्छ । विद्यालय विभिन्न पृष्ठभूमी बोकेका बालबालिकाको जमघट हुने संगमस्थल हो । विद्यालयलाई बालबालिकाको लागि सहज सुरक्षित एवं रोचक ढंगबाट शिक्षा आर्जनका निमित्त सुगम पहँुचको रूपमा विकास र विस्तार गरिनुपर्दछ । व्यवस्थित, बालसुलभ, सुरक्षित र संरक्षित रूपमा विद्यालयको व्यवस्थापन गर्दै लैजानु पहिलो सर्त हो । विद्यालय बालबालिकाको शारीरिक, मानसिक, संज्ञानात्मक, बौद्धिक, नैतिक विकास गर्ने पवित्र साझा थलो बन्नु पर्छ । बालमैत्री शासन र बालअधिकारको सुनिश्चितताको लागि घर परिवारदेखि विद्यालय सम्मको वातावरण अनुकुल बनाउन सरोकार पक्षको व्यवहारिक प्रतिबद्धताको खाँचो पर्दछ । अन्यथा बालदिवस कर्मकाण्डी र नारामा मात्रै सिमित नहोला भन्न सकिन्न ।राज्य ले सुनिश्चित गरेको अधिकार हरु र बालबालिका ले पाउने सम्पूर्ण अधिकार बालबालिका ले पाउन र बालमैत्रि देश बन्न सकाेस।बालदिवस को शुभकामना ।
बिष्णु मिजार