
असोज ११ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले लेखेको लेख जस्ताको तस्तै चोरि गरि प्रकाशित गरिएको भेटिएको छ । मोहनविक्रम सिंहले वि.सं. २०४२ सालमा लेखेको ‘जनवादी केन्द्रीयतासम्बन्धी अधिभूतवादी दृष्टिकोण’ शीर्षकको लेख हुबहु प्रकाशित गरिएको भेटिएको हो ।
सिंहले ‘चार दशक’ नामक पुस्तकमा उक्त लेख राखेका थिए । जुन लेख हुबहु गौरिलाल कार्कीको नामबाट ‘अधिभूतवादी या यान्त्रिक कार्यशैलीविरुद्व संघर्ष गरौं’ शीर्षकमा विभिन्न अनलाईनमा प्रकाशित भएको भेटिएको छ ।
‘जनवादी केन्द्रीयतासम्बन्धी अधिभूतवादी दृष्टिकोण’ शीर्षकमा भएको लेख ‘चार दशक’ नामको पुस्तकको पेज नम्बर ३८९ देखि ४०३ सम्म छ । गौरिलाल कार्कीले उक्त किताबको पेज नम्बर ३८९ देखि ३९५ सम्म हुबहु प्रकाशित गरेका छन् ।
लेख चोरे के कारबाही ?
लेख चोरी गरेमा प्रतिलिपि ऐनअनुसार कारबाही भोग्नुपर्ने र क्षतिपूर्ति ब्यहोर्नुपर्ने हुन्छ । प्रतिलिपि ऐन २०५९ अनुसार उक्त कार्य गर्नु गैरकानूनी हो । उक्त कार्य गरेवापत १ लाख रुपैयाँसम्म जरिवाना, ६ महिनासम्म कैद वा दुवै सजायँ हुनसक्ने व्यवस्था छ ।
को हुन् लेख चोर्ने कार्की ?
सिंहको लेख आफ्नो बनाएर विभिन्न अनलाईनमा प्रकाशित गर्ने कार्की नेकपा (मसाल)अन्तर्गतकै राष्ट्रिय जनमोर्चाका पूर्व बाँके अध्यक्ष हुन् । गत २०७६ को चैत २ मा उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको थियो ।
राष्ट्रिय जागरण अभियान केन्द्र नामक संगठनमा बसेर गतिविधि गरेको भेटिएपछि उनलाई पार्टीले कारबाही गरेको थियो । अनिश्चितकालका लागि गरिएको उक्त कारबाहीप्रति कार्कीले असहमती जनाउँदै आएका छन् ।
स्रोत: संसार न्युज