
श्यामलाल पोखरेल
१३ असोज सुपादेउराली अनलाइन बुटवल ।
स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियान्ता प्रा.डा गोविन्द केसीको माग पुरा गरी जीवन सुरक्षाको ग्यारण्टी गर्न स्वतन्त्र नागरिक समूह नेपाल सरकारसंग माग गरेको छ ।
प्राध्यापक डाक्टर गोविन्द केसीले पछिल्लो पटक जुम्लाबाट स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनसन बस्नुभएको छ । काठमाण्डौमा अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर हुंदै गएकाले स्वास्थ्यप्रति ख्याल गर्न र जायज माग सम्बोधनका लागि स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रेले विज्ञप्ती जारी गरी सरकारसंग माग गर्नुभएको छ ।
१९ औं पटक १६ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रनिदिन कमजोर भएकाले आफ्ना नागरिकको स्वास्थ्य र नागरिकले उठाएका जायज मागहरु सम्बोधन गर्ने दायित्व सरकारको भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रा.डा केसीले उठाएका मागहरु जनपक्षीय भएकाले छिटो भन्दा छिटो माग पुरा गरेर जनताको जनमतलाई कदर गर्न विज्ञपतीमार्फत स्वतन्त्र नागरिक समूह नेपालले माग गरेको छ ।
सरकार र प्रा.डा केसीबीच भएका सहमति तथा सम्झौताहरु व्यवहारिक रुपमा कार्यान्वयन गर्नसमेत सरकारसंग माग गरिएको छ ।
प्रा.डा गोविन्द केसीले उठाएका मागहरु सरकारले सम्बोधन गर्न नसके सरकारलाई हेर्ने नागरिक समाजको दृष्टिकोणमा परिवर्तन आउन सक्ने अध्यक्ष गैह्रेद्वारा जानरी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रा.डा केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक दुईसाता वितिसक्दा पनि सरकारले कूनै चासो नदिएकोप्रति स्वतन्त्र नागरिक समूह नेपालको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संविधानले निर्देष्ट गरेको स्वास्थ्य, शिक्षा जस्ता नागरिकका आधारभूत मागप्रति सरकार मौन देखिएको र प्रा.डा केसीको मानव अधिकारसमेत सरकार पक्षबाट हनन् भएको बताइएको छ ।