कोरोना नरहेका जिल्ला र क्षेत्रका विद्यालय खोल्न सांसद पौडेलको आग्रह

असोज १३ काठमाडौं ।  प्रतिनिधि सभाका सांसद तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष  दुर्गा पौडेलले कोरोना संक्रमण नरहेका जिल्ला र क्षेत्रका शैक्षिक संस्था खोल्न आग्रह गर्नुभएको छ।

व्यवस्थापिका संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै राजमो सांसद पौडेलले देशभर एकै अवस्था नरहेकोले संक्रमण नरहेका स्थानमा शैक्षिक संस्था खोल्नुपर्ने बताउनुभएको हो ।

सांसद पाैडेलले देशका सातवटा जिल्लामा कोरोना संक्रमण छैन । संक्रमण भएका जिल्लाहरुमा पनि केही ठाउँमा बाहेक अन्यत्र संक्रमण छैन । त्यसकारण देशभर एकै व्यवस्था गर्नुहुँदैन । कोरोना संक्रमण नरहेका जिल्ला र क्षेत्रका शैक्षिक संस्था खोलेर बालबालिकालाई पढाउने व्यवस्था गर्नुपर्छ ।’

पौडेलले कोरोना नियन्त्रणका नाममा अहिलेसम्म के कति खर्च कुन कुन क्षेत्रमा भयो, त्यसको विवरण सरकारले दिनुपर्ने बताउनुभयो । त्यसको लागि संसदीय समितिले सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बोलाएर स्पष्ट हुनुपर्ने आग्रह पनि गर्नुभयो ।

उहाँले कोरोना संक्रमणका कारण भारत र विदेशबाट फर्किएका हजारौं नेपाली देशभित्र रोजगारी नपाएर पुनः उतै फर्कनुपर्ने दुखदायी अवस्था भएपनि सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो ।

‘कोरोनाबाट ज्यान जोगाउन हप्तौं हिँडेर र ज्यान हत्केलामा राखी महाकाली नदी पौडेर समेत नेपाली स्वदेश फर्किए । तर, ६ महिनासम्म सरकारले उनीहरुलाई रोजगारी दिने विषयमा कुनै कदम चाल्न सकेन’ उहाँले भन्नुभयो, ‘फेरि उनीहरु रुँदै उतै फर्कन थालेका छन् । प्रवासबाट आफ्नै देशमा केही गरौं भनेर फर्किएका नागरिकप्रति राज्यको कुनै दायित्व देखिएन ।’

यी सबै विषयमा सरकारले संसदीय समितिमार्फत जनतालाई जवाफ दिनुपर्ने पौडेलले माग गर्नुभयो । पौडेलको माग पछि संसदीय समितिले बिहीबार उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बोलाएर समितिमा छलफल गर्ने भएको छ ।

समिति नेकपाका नेता भिम राव, कांग्रेस नेता मिनेन्द्र रिजाललगायत सांसदहरुले कोरोनाको नाममा भएको खर्च विवरण पारदर्शी बनाउनुपर्ने माग गर्नुभएको थियो ।

स्रोत: युगदर्शन अनलाइन

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार