राजधानीसम्बन्धी असन्तोष संघीयताको ट्रेलर मात्र : प्रदेश सांसद जिसी

बुटवल । ५ नं. प्रदेशमा राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले अहिले राजधानीको सम्बन्धमा देखिएको असन्तोष सङ्घीयताको ट्रेलर मात्र भएको दावी गर्नुभएको छ । उहाँको दावी छ, सङ्घीयताको वास्तविक तस्बिर आउन बाँकी नै छ ।

असोज १९ गते ५ नं. प्रदेशको छैटौँ अधिवेशनको तिसौँ बैठकलाई सम्बोधन गर्दै सांसद जिसीले भन्नुभयो– ‘रुपन्देहीमा देखिएको असन्तोष त सङ्घीयताको ट्रेलर मात्र हो, वास्तविक तस्बिर आउन त अझै बाँकी छ ।’

प्रदेशसभामा विरोध र नाराबाजीमाझ मन्तव्य राख्दै उहाँले सङ्घीयताको खारेजीका लागि राष्ट्रिय जनमोर्चाले पटक–पटक आवाज उठाउँदा वचनवाण सहेको क्षण स्मरण गर्नुभयो । ‘सङ्घीयता खारेजीको कुरा उठाउँदा मैले पटक–पटक वचनवाण सुन्ने गरेकी छु’ उहाँले अगाडि भन्नुभयो– ‘अब भन्नुहोस् सत्तारूढ नेकपामा सांसदहरू, दाङ राजधानी प्रस्ताव गर्दा रुपन्देहीका सांसदको रुवाबासी किन ?’

सांसद जिसीले नेपालमा २००७ सालदेखि नै संविधान बन्ने प्रक्रिया सुरु भए पनि जनताले कहिल्यै पनि सङ्घीयताको पक्षमा आवाज नउठाएको बताउनुभयो । २०६२–६३ सालको आन्दोलनमा समेत सङ्घीयताको पक्षमा आवाज नउठेको बताउँदै उहाँले अन्तरिम संविधान–२०६३ हुँदै बहुसङ्ख्यक जनताको चाहनाले होइन, विदेशीशक्तिको स्वार्थमा सङ्घीयता भित्राइएको पनि बताउनुभयो ।

प्रदेशसभाको बैठकमा बोल्दाबोल्दै माइकको आवाज काटिएपछि सांसद जिसीले पाँच मिनट समयको आफ्नो मन्तव्य पूरा गर्न पाउनुभएको थिएन ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार