अखिल नेपाल राष्टिय खेलकुद महासंघ गठन, संयोजकमा पृथ्वी थापा

कार्तिक २ बुटवल ।  अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ गठन भएको छ । कार्तिक १ गते खेलकुदप्रेमी तथा खेलकुद विज्ञसहितको भर्चुअल बैठकबाट महासङ्घ गठन भएको हो ।

महासङ्घ केन्द्रीय न्युक्लसका संयोजक पृथ्वी थापाको हस्ताक्षरमा कार्तिक २ गते प्रसारित प्रेसविज्ञप्तीमा सो जानकारी दिइएको छ । सरकारको गलत नीति, भ्रष्टाचार र अनियमितताको विरोध गर्दै खेलक्षेत्रलाई स्वतन्त्र, अनुशासित, मर्यादित र व्यावसायिक रूपमा विकास गर्न अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ गठन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

भर्चुअल बैठकद्वारा महासङ्घको सात सदस्यीय केन्द्रीय न्युक्लियस गठन भएको जानकारी दिइएको सो विज्ञप्तीमा आगामी ६ महिनाभित्र खेलक्षेत्रको देशव्यापी सङ्गठन विस्तार गरेर राष्ट्रिय भेला आयोजना गर्ने लक्ष्य निर्धारित गरिएको बताइएको छ ।

प्रेसविज्ञप्तीको पूर्ण पाठ यस्तो छ–

“खेलकुदसम्बन्धी खेलकुदकर्मी र खेलकुद विज्ञसहित पृथ्वी थापाको संयोजकत्वमा गठन भएको केन्द्रीय न्युक्लसको प्रथम भर्चुअल बैठक यही २०७७ कार्तिक १ गते सम्पन्न भएको छ ।

यस बैठकले खेलकुदसम्बन्धी नेपाल सरकारको नीति, खेलकुद सम्बन्धमा देशमा विद्यमान रहेको अवस्था, राष्ट्रिय खेलकुद परिषदमा भएको भ्रष्टाचार र खेलकुद विकासका लागि सरकारद्वारा अपनाइएको गलत नीतिको विरुद्ध समीक्षा गर्दै आफ्नो सङ्गठनात्मक विस्तार अघि बढाउने कार्यक्रम अघि सार्दै आवश्यक निर्णयहरू गरेको छ । त्यसको जानकारीका लागि यो विज्ञप्ती प्रकाशित गरिएको छ ।

खेलकुद विकासका लागि पछिल्लो समयमा आएर केही सकारात्मक गतिविधिहरू अगाडि बढेतापनि नेपाल सरकारको स्पष्ट र आवश्यक नीति र यसको कार्यदिशाको अभाव, खेलकुद विकासमा सत्ता राजनीतिकरणको विकास भइरहेको, खेलकुदको स्वतन्त्र र व्यावसायिक विकासका लागि सरकारको स्पष्ट नीति र कार्यक्रम नभएको, सरकारी खेलकुद परिषद्मा हुने गरेको र भइरहेको चरम भ्रष्टाचार र अनियमितता व्याप्त भइरहेको अवस्थामा देशमा कार्यरत खेलकुद, सङ्घ–सङ्गठन, क्लबहरूको स्पष्ट कार्यदिशा नभएको कारण खेलकुद सङ्गठनको आवश्यकताबोध भएकाले “अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ” गठन भएको छ । यसले निकट भविष्यमै विधान र घोषणापत्र तयार गरी सङ्गठनलाई महासङ्घमा लैजाने, खेलकुदलाई स्वतन्त्र, अनुशासित, मर्यादित र व्यावसायिक रूपमा विकास गर्ने र सत्ता राजनीति र खेलकुदमा भइरहेको भ्रष्टाचार, अनियमितताको विरुद्ध देशव्यापी सङ्गठनको नेटवर्क निर्माण गर्दै छ महिनाभित्र राष्ट्रिय भेला गरी सङ्गठनलाई अघि बढाउने निर्णय गरेको छ ।

यसले पृथ्वी थापाको संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय न्युक्लसको समेत विस्तार गरेको छ; जसमा सचिव भक्त विश्वकर्मा, कोषाध्यक्ष कुलबहादुर बुढा तथा सदस्यहरूमा विशनसिंह खड्का, विनोद गैरे र समीर सिंह हुनुहुन्छ भने १ स्थान पछि थप्ने निर्णय गरेको छ । साथै पृथ्वी थापा, भक्त विश्वकर्मा र कुलबहादुर बुढा रहेको कार्यालयसमेत निर्माण गरेको छ ।

बैठकले खेलकुद विकासका लागि नेपाल सरकारको तर्फबाट स्पष्ट नीति र कार्यक्रम ल्याउनुपर्ने, यस प्रकारको नीति र कार्यक्रम ल्याउँदा खेलकुद जगतका स्वतन्त्र सङ्घ–सङ्गठनहरूको पनि राय लिनुपर्ने, खेलकुदमा भइरहेको अराजकता, अनुशासनविहीनता, भ्रष्टाचार बन्द गर्न नेपाल सरकारसँग माग गर्दछ । साथै कोभिड–१९ ले खेलकुद जगत्मा पारेको असरबाट प्रभावित खेलाडी र खेलकुद व्यवस्थापनलाई विशेष ध्यान दिन र खेलाडीलाई राहतको समेत प्रभावकारी व्यवस्था गर्न माग गर्दछ ।
उक्त बैठकमा विशेष अतिथि भैरवराज रेग्मीले खेलकुद जगत्मा नेपाल सरकारबाट अपनाइएको गलत नीतिहरूको आलोचना र यो सङ्गठनले गर्नुपर्ने तात्कालिक र दीर्घकालीन कार्यबारे प्रकाश पार्नुभएको थियो ।”

 

-युगदर्शन अनलाइन

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार