कोरोनासँग जोडिएको सामाजिक जिम्मेवारी: अनिल किशोर घिमिरे

कोभिड १९ को महामारीले आज सारा बिश्व एकैपटक हल्लिरहेको छ । अहिलेको बिश्व ब्यवस्थामा प्रभूत्वशाली मानिएका र चिकित्सा विज्ञानमा अब्बल ठहरिएका मुलुकहरु नै यसबाट बढी प्रभावित भइरहेका छन् । आज सिङ्गो मानवजाति मानव सभ्यता जोगाउने विषयमा चिन्तित छ । अधिकांश जनसंख्या घरभित्रै बसेर, बन्दाबन्दीभित्र समाजको आगामी स्वरुप र मानवीय सम्बन्धबारे चिन्तन मनन् गरिरहेका छन् ।  मान्छेको अदृश्य शत्रुको विरुद्ध सारा संसार युद्धमा लडिरहेको छ । नयाँ प्रविधि, नयाँ ज्ञान र चिकित्साबिज्ञानको तीब्र विकास भइरहेको बर्तमान समयलाई चुनौती दिँदै नयाँ प्रकारको भाइरसले आक्रान्त बनाएपछि संसारका बैज्ञानिकहरु, अन्वेषक र प्रर्वतकहरुले ठूलो चिन्ता ब्यक्त गर्दै यसको उपचार विधि पत्ता लगाउन अहोरात्र खटिरहेका छन् । स्वास्थ्यकर्मीहरु मृत्युसँग खेल्दै संक्रमितको उपचारमा लागिपरेका छन् । कोरोनाको प्रकृति, गति, स्वरुप र आयु नै अनिश्चित भइरहेको सन्दर्भमा औषधि पत्ता लागेर आम जनताको पहुँचमा पुग्नेबेलासम्म कति मानवीय क्षति हुने हो ? आँकलन गर्न सकिँदैन । त्यसैले कैयौं महिनासम्मको बन्दाबन्दी, मनोवैज्ञानिक त्रास, उत्पादनको कमी, आवतजावतमा रोकावट, राष्ट्रिय अन्तर्राष्ट्रिय सीमा बन्द, आपसी सम्बन्ध, भेटघाट र सहयोग आदानप्रदानमा कटौती आदि जस्ता क्रियाकलापले भावी समाजको स्वरुप, ब्यवहार र सम्बन्धलाइ नयाँ आयामका साथ अगाडि बढाउने निश्चित छ । इतिहासका कैयौं समयमा ठूलाठूला महामारीहरुलाइ मानव समुदायले भाग्दै आएको हो । विगतका महामारीहरु कुनै निश्चित देश र निश्चित क्षेत्रमा सीमित हुने गर्थे । तर, कोरोना भाइरस बिगतका भाइरसभन्दा शक्तिशाली र आक्रामक भएकोले करिब १ सय दिनमा २ सयभन्दा बढी देशलाई प्रभावित पार्यो । संसारमा कैयौं युद्धहरु, संक्रामक रोग, आर्थिक मन्दी, भोकमरी, प्राकृतिक बिपत्ति आदिले कैयौंपटक सताउने गरेको छ । तर, एउटै बिषयले संसार प्रभावित पारेको यो पहिलो घटना हुनुपर्छ । यसले सारा संसारका एकसे एक दिमागहरुलाइ परिवर्तित गरिदिएको छ । मानव सभ्यताको विकासक्रमअनुसार समस्या समाधानका नयाँ नयाँ तरिका, नयाँ ज्ञान, नयाँ प्रविधि र आविष्कारहरुको विकास भएको छ । नोबेल पुरस्कार बिजेता अर्थशास्त्री डेटनले “द गे्रट स्केप” नामक पुस्तकमा मानव स्वास्थ्यमा भएको अभूतपूर्व सुधारको श्रेय पुर्नजागरणपछि शुरु भएको विज्ञानको विकासलाई दिएका छन् । उनले जिवाणुको सिद्धान्त, खोप र औषधिको आविष्कार, सरसफाईसम्बन्धी उपाय र अन्य पुनर्जलीय उपचार जस्ता प्रविधिको विकासले मानव स्वास्थ्यमा धेरै प्रगति भएको बताएका छन् । यदि त्यसो नभएको भए चीनबाट शुरु भएको यस्तो आक्रामक बिषालु भाइरसले यतिबेला संसारलाइ निलिसक्थ्यो । यति हुँदाहुँदै पनि कैयौं विकास, प्रविधि तथा आविष्कारहरुलाई नाफाघाटासँग जोडेर पैसालाइ सर्वस्व ठान्ने र बजारलाई प्राथमिकतामा राख्ने नवउदारवादी विश्व वयवस्थाको कारण जनस्वास्थ्य जस्तो सेवामूलक क्षेत्र अस्तब्यस्त बनिरहेको छ । पूँजीवादको एकाधिकार र निजीकरण, व्यापारीकरणसहितको भूमण्डलीकरणको कारण यस्ता महामारीको नियन्त्रण तथा स्वास्थ्य सेवाहरु प्रभावकारीरुपमा विकेन्त्रित हुन सकिरहेका छैनन् । त्यसैले अहिले विश्वका कैयौं सरकार र राजनीतिक संभ्रान्तहरुको मुकुण्डो उघारिएको छ । चौधौं शताब्दीतिर ब्ल्याक डेथको जमानामा मान्छेहरु महामारीबाट पार पाउन गिर्जाघरहरुमा प्रार्थना गर्थे । केही उपाय नलागेपछि मरिने भयो भनेर मान्छेहरु जम्मा भएर रमाइलो गर्थे । मिठोमिठो खानेकुरा बनाएर खान्थे भन्ने भनाइ छ । उतिबेला विज्ञान, प्रविधि तथा चिकित्सा क्षेत्रको कुनै विकास भएको थिएन । त्यसैले करोडौ मान्छेको ज्यान पनि गयो । आजको २१औं शताब्दीको समयमा कैयौं चेतनाको विकास, प्रविधि र ज्ञानको विकाससँगै कैयौं सतर्कता अपनाएर संक्रमणबाट जोगिन सकिन्छ ।  विश्वको राजनीतिक वृत्तमा समाज परिवर्तनका ठूलाठूला बिषयहरु उठ्ने गर्दछन् । तर धेरै कुराहरु सेवाक्षेत्र भन्दा पनि अन्य क्षेत्रसँग बढी सम्बन्धित हुने गर्दछन् । रेनमिन युनिभर्सिटीका प्रोफेसर वाङ मेन भन्छन् ‘सारा संसारका एकसे एक दिमागहरु परिवर्तित विश्वको ढाँचाबारे चिन्तन गर्दा राजनीतिक अर्थतन्त्र, समाजशास्त्र, सेना तथा सुरक्षा आदि बिषयमा ध्यान केन्द्रित गर्दछन् तर उनीहरु संक्रामक रोगहरुलाई प्रमुख बिषयमा सोच्दैनन् ।’ कैयौं महामारीको बेलामा संसारभर मानवताका ठूलाठूला बिषयहरु उठ्ने गर्छन् । महामारी नियन्त्रणमा आएपछि पुनः मान्छेहरु व्यक्तिगत स्वार्थ र प्रतिस्पर्धाको दौडमै मस्त रहन्छन् । खासगरी दोस्रो विश्वयुद्धपछि संसारले प्रविधि र भौतिक पक्षमा सशक्त विकास गरेको छ । तर, विकासको अधिकांश हिस्सा शक्तिको होडबाजीमै केन्द्रित रहने र त्यही प्रकारका आणविक अस्त्रको निर्माण र हतियार खरिदबिक्रीमा मुख्य शक्तिकेन्द्रहरु लागिरहेका छन् । कुनै व्यक्ति र राष्ट्रको नायकत्व देखाउनको लागि शक्ति र पूँजी संचय गर्ने र त्यसको लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा ठूलाठूला युद्ध थोपर्ने काम गरिरहेका छन् । विकासको अन्धाधुन्द दौडमा पर्यावरणको अत्यधिक दोहन गर्ने कार्यले नयाँ प्रकारका रोगव्याधीको संक्रमण फैलिइरहेको छ ।   महात्मा गान्धीले भनेका छन् ‘पृथ्वीसँग मानिसको आवश्यकता पूरा गर्ने प्रशस्त स्रोत सम्पदा छ तर उसको लालच पूरा गर्ने सम्पदा भने छैन ।’ अहिले चलिरहेको खुलाबजार तथा नाफाखोर आर्थिक प्रणालीले जमिन, समुन्द्र र पृथ्वीको भूमण्डलीय प्रणालीबाट जुन मात्रामा प्राकृतिक श्रोतसाधन उत्खनन् गरी एकातिर सीमित मानिस तथा बहुउदेश्यीय निगम कर्पोरेशनको धनदौलत तथा सम्पत्ति आर्जन गर्ने अति लालची मनोकांक्षा पूरा गरिरहेको छ भने अर्कोतिर प्रकृतिको संरचना, प्राकृतिक प्रक्रिया तथा मानिस लगायत सम्पूर्ण जीवजगतको अन्तरसम्बन्ध र अन्योन्याश्रित अन्तरनिर्भरताको जालो नै ध्वस्त पार्दै लगेको छ । यसैले अहिलेसम्म आम जनतालाई निचोरेर कर्पोरेटहरुको स्वार्थ रक्षा गर्ने राज्यहरुको आदत बसिसकेको छ । यसै सन्दर्भमा जर्मन समाजशास्त्री अलरिक वेक भन्छिन् ‘आधुनिकीकरण आफैले असुरक्षित र जोखिमपूर्ण ब्यवहारलाई परिचित गराएको छ र जोखिम समाज हाम्रो जीवनको अभिन्न अङ्ग बन्दै गएको खतरा छ । आज प्रविधिको सहायताले संसारभरिका वैज्ञानिकहरुले सहकार्य, समन्वय र अन्तरक्रिया गरी औषधि र भ्याक्सिन पत्ता लगाउन लागिपरेका छन् । उपभोक्ताले घण्टौं लाइनमा बसेर लिनुपर्ने सेवा र दशवटा सामान किन्न दश ठाउँमा पुग्नुपर्ने अवस्थालाई डिजिटल कार्यशैलीले सहज र छरितो बनाएको छ । नयाँ ज्ञान र प्रविधिलाई राज्यले समान प्रकारले वितरण गर्ने र मानव कल्याणमा लगाउनुपर्छ । संकटको बेला योगदान गर्नसक्ने राज्य भयो भने मात्र जनताले राहत महसुस गर्छन् र कैयौं समस्या ठोस प्रकारले समाधान हुन सक्छन् । संसारका थुप्रै राज्यहरुले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत बिषयलाइ पनि निजी क्षेत्रलाई सुम्पने र नाफा कमाउने साधनको रुपमा तिनको प्रयोग गर्ने गरेका छन् । त्यसैको परिणाम सारा विश्वले भोग्दैछ । राज्य नागरिकहरुको सुरक्षा र ब्यवस्थापनको लागि निर्माण भएको हो भन्ने मान्यता बोकेर कैयौं राष्ट्रहरु अहिले कोरोनासँगको युद्ध जितको संघारमा पुगेका छन् । रोजगारी, शिक्षा, स्वास्थ्य, निवृत्तिभरण जस्ता नागरिकका सामाजिक सुरक्षालाई राज्यले ग्यारेण्टी गर्ने दायित्व बोकेको कारण चीन, क्युवा जस्ता मुलुकहरु आज जनस्वास्थ्यमा अब्बल मानिन्छन् । त्यहाँ स्वास्थ्य सेवामा हुने लगानी पूर्णतः राज्यकोषबाट पूर्ति गरिने हुनाले नागरिकको लागि निःशुल्क हुने मात्र होइन स्वास्थ्य सेवालाई नागरिकको आधारभूत मानवअधिकारको रुपमा राज्यले स्वीकार गरेको छ ।   सन् १९५० को दशकमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुँदा जनस्वास्थ्यको स्थिति अत्यन्तै नाजुक थियो । शताब्दी पुरानो शोषणमुनि थिचिएका बहुसंख्यक जनताको स्थिति रुग्ण हुनुको साथै नयाँ निर्माण भएको सत्तासँग स्रोत र साधन अत्यन्तै सीमित थियो । अन्य आवश्यकतासँगै स्वास्थ्यका आवश्यकताहरु पनि अनगिन्ती थिए । तर, उच्चस्तरको राजनीतिक प्रतिवद्धता र राज्यको दायित्वबोधका कारणले नै यी समस्याहरुमाथि विजय पाउन सम्भव भयो । समुदायमै आधारित नाङ्गाखुट्टे डाक्टरहरुको ब्यापक तालिम र परिचालन, स्वास्थ्य चौकी तथा कम्युन अस्पतालहरुको बिस्तार तथा परम्परागत चिकित्साप्रणालीको खोज र प्रवद्र्धन अनि यसको आधुनिक चिकित्साप्रणालीसँगको एकीकरण चिनिया स्वास्थ्य प्रणालीका विशेषता हुन् । त्यही प्रणालीको जगमा चीनले नयाँ भाइरसको पहिचान गर्यो र विश्व स्वास्थ्य संगठनलाई जानकारी गरायो । आफू त्यसको तत्काल युद्धस्तरमा संक्रमण नियन्त्रणको उपाय अवलम्बन गर्यो । चीनले एकै दिनमा २० हजार मान्छेको नमूना परीक्षण गर्नसक्ने प्रयोगशाला र तीन घण्टामै नतिजा दिनसक्ने परीक्षण किट आफ्नै मुलुकमा विकास गर्यो । त्यसलाई मुख्यतः हुवेई प्रान्तमा ब्यापक बनायो । हजारौं बेडसहितका सुबिधासम्पन्न अस्थायी अस्पताल दुई चार दिनमै तयार गर्यो । संक्रमितबाट असंक्रमितलाई पूरापुर अलग्याउने, संक्रमितसँग सम्पर्कमा आएकोलाई ब्यापक खोजी र सघन परीक्षण गरी कोरोना भाइरसको मुख्य स्रोत अवरुद्ध बनाउने र संक्रमितको प्रभावकारी सेवा गर्ने काममा ध्यान दियो । चीनका प्रधानमन्त्री सी र राष्ट्रपति ली स्वयं होमिए । हुवेइ प्रान्तको शक्तिशाली सरकार र वुहान शहरका मेयर फिल्डमा भएसँगैं चीनका उपप्रधानमन्त्री आफै वुहान शहरमा गएर अड्डा जमाएर बस्दा उपचार सेवामा सबैलाई हौसला प्राप्त भयो । चीनका सबैभन्दा धनी ब्यक्ति ज्याक मा ले कोभिड– १९ विरुद्धको लडाइँमा निजी क्षेत्रको अगुवाई नै गरे । यसरी चिनिया राज्य, जनता, उद्योगपति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कम्युनहरु सबैले एउटै स्वार्थ (मानवीयता र नागरिकको सुरक्षा)बोकेर युद्धस्तरमा कार्य गरे । त्यसैले छोटो समयमै कम क्षतिका साथ चिनियाहरुले कोरोनामाथि विजय प्राप्त गर्दैछन् । सन् १९५९ को क्रान्तिअघि क्युवा त्यस क्षेत्रको आम देशहरुजस्तै अनेकौ स्वास्थ्य समस्याबाट ग्रस्त थियो । राज्य व्यवस्थाले अत्यन्तै थोरै संख्यामा रहेको धनिमानी र राजधानी हवाना वरिपरि बसोबास गर्ने केही कुलीन परिवारलाई मात्र रेखदेख गर्दथ्यो । स्वास्थ्य सेवा पनि त्यही वर्गको पहुँचमा थियो । क्रान्तिपछि वर्गसम्बन्धमा आएको परिवर्तनले राज्यको भूमिकामा पनि परिवर्तन ल्यायो । क्युवाली स्वास्थ्य प्रणालीको मुख्य पक्ष भनेको जनताको जतिसक्दो नजिकसम्म स्वास्थ्य सेवाको विस्तार हो । सम्पूर्ण क्युवालीहरुलाई पोलिक्लिनिक अथवा ग्रामीण अस्पतालमार्फत नजिकै घरदैलोमा अत्यावश्यक स्वास्थ्य सेवाहरु उपलब्ध गराएका छन् । राज्यले सम्पूर्ण स्वास्थ्य सेवाको व्यवस्थापन गरिदिएको छ । त्यही पृष्ठभूमिमै क्युवाले कोरोनाविरुद्ध लडाई लड्दै आफ्नो स्वास्थ्य प्राविधिकहरुलाई कोरोना महामारीविरुद्धको लडाइँमा अन्य विकसित देशमा स्वयंसेवकको रुपमा पठाउने काम गरेको छ । न्यूयोर्क टाइम्सकी स्तम्भकार इ.ट्यामी किम भन्छिन् ‘दक्षिण कोरियाको केन्द्रीय सरकारले कोरोना देखिनासाथ देशभरका करिब १३० मास्क निर्माता कम्पनीहरुको ५० प्रतिशत केएफ ९४ मास्क आफूले खरिद गरी छुट रकममा २३ हजार फार्मेसीमा ढुवानी गरेको थियो । यसैगरी ताइवानले ठूलो स्तरमा निजी क्षेत्रलाई हस्तक्षेप गरी मास्कको संकट समाधान गरेको थियो । फ्रान्सले पफ्र्यूम बनाउने उद्योगलाई सेनिटाइजर बनाउने काममा प्रयोग गरेको थियो । स्पेनले सम्पूर्ण स्वास्थ्य सेवाहरु राष्ट्रियकरण गर्यो । यसरी कैयौं देशहरुले सेवाका क्षेत्रहरुलाई राज्यको नियन्त्रणमा लिएर मानवीय स्वास्थ्यरक्षाको काम गरिरहेका छन् । त्यसैले त अहिले चीनले इटलीलाई र दक्षिण कोरियाले अमेरिकालाई सहयोग गर्नुपर्ने विश्व ब्यबस्थाको बदलिएको सन्तुलन देखा पर्दैछ । अमेरिकाको संविधान निर्माण गर्ने बेलामा जेफर्सनले लेखेका थिए, ‘मानवीय जीवन र खुशीको हेरचाह गर्नु असल सरकारको पहिलो र वैधानिक काम हो ।’ तर अहिले पनि कतिपय देशहरु आफ्नो अहंकारमा जनताको स्वास्थ्यमाथि कुठाराघात गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला अभिव्यक्तिहरुले नै त्यसको संकेत गर्दछन् । सन् २०२० को फेब्रुवरी १५ सम्म कैयौं देशमा कोरोना संक्रमण फैलिरहेको सन्दर्भमा र हजारौको ज्यान गइसक्दा पनि ट्रम्पले कोरोना अमेरिकाको लागि सामान्य समस्या रहेको र यससँग जुध्न अमेरिकासँग प्रशस्त स्रोत र साधन रहेको कुरा दोहोर्याइरहेका थिए । उनले विश्व एउटा युद्धमा लागिरहेको बेला सम्पूर्णरुपमा अमेरिका केन्द्रित भएर ‘अमेरिका बन्द गर्नको लागि होइन’ भन्ने घमण्ड प्रस्तुत गरे । अझ इरानलाइ घँुडा टेकाउने अस्त्रको रुपमा कोरोनालाई प्रयोग गर्न खोजेर घोर अप्रजातान्त्रिक र अमानवीय कार्य प्रस्तुत गरे । त्यसैकारण जनस्वास्थ्यको अहम् प्रश्नमाथि खेलवाड गर्दा अमेरिकामा भुसको आगो जस्तै कोरोना फैलिइरहेको छ । एउट तथ्याङ्कले सन् २०१८ मा मात्रै विश्वभरि १८ खर्ब २२ अर्ब डलर बराबरको हतियार खरिदबिक्री भएको र त्यसको धेरै हिस्सा अमेरिकासँग जोडिएको बताएको छ । त्यो प्रकारको होडबाजीमा लागेको अमेरिकाले जनस्वास्थ्यको विषयमा ध्यान नदिनुले ऊजस्ता पूँजीवादी राष्ट्रहरुले शक्तिको लागि जे पनि गर्ने र मानवतामाथि घोर अन्याय गर्छन् भन्ने प्रमाणित भएको छ । एउटा बहसमा डा.योगेन्द्र प्रधानाङ्ग भन्छन्, ‘स्वास्थ्य क्षेत्रमा साम्राज्यवाद सर्वाधिक प्रभावकारी रुपमा फैलिएको छ । त्यसको नेतृत्व पनि अमेरिकाले नै गरेको छ । उनका अनुसार मानिसहरुलाई स्वास्थ्य र चिकित्साशास्त्रको भिन्नता थाहा छैन । साम्राज्यवादीहरुले चिकित्सकहरु, औषधिहरु तथा तिनको आपूर्तिका साथै अस्पतालहरुमाथि नियन्त्रण कायम गरेर नै चिकित्सा क्षेत्रमाथि कब्जा जमाउँछन् । उनी सन् १९७८ को अल्माआटा घोषणालाई कार्यान्वयन गर्नुपर्ने तर हाल गुमेको र साम्राज्यवादीद्वारा कमजोर तुल्याइएको एक नमुनाको रुपमा उल्लेख गर्छन् । जीवनजलका पोका बजारमा ल्याउनुभन्दा अगाडि पखालाको उपचार गर्न नुन, चिनी, पानीको प्रयोग गर्ने नीति त्याग्न साम्राज्यवादी देशहरुले युनिसेफलाई दिएको आदेशको उदाहरण उनले बताउछन् । यसैको परिणामस्वरुप बहुर्राष्ट्रिय कम्पनीहरुले भारतका औषधि कम्पनीहरुमा लगानी गरेर उत्पादन गरिएका यी पोकाहरु नेपालमा पनि आयात गरिएको छ । साम्राज्यवादीहरुले स्वास्थ्य क्षेत्रबाट मुनाफा कुम्ल्याउने नीतिको सानो उदाहरण हो यो ।  अहिले पनि विदेशी दातृनिकायहरुले एनजीओ आइएनजीओमार्फत कैयौं साम्रज्यावादी योजनाहरु लागु गर्ने प्रयत्न गरिरहेका छन् । उनीहरुले सामाजिक, मानवीय, पारिवारिक भावनाहरु भुत्ते बनाउँदै लगेका छन् । मौलिक कार्य, परम्परा, सीप, रैथाने खाद्यान्न, खाना र साँस्कृतिक मान्यताहरु मासिदै गएर आयातीत संस्कारमा विश्व नै आश्रित बनिरहेको छ । यस्तो अवस्थामा नेपाल जस्ता परनिर्भर मुलुकहरुले ठूलो मूल्य चुकाउनुपर्ने स्थिति छ । यस्ता महामारीहरुले मानवजातिको केवल स्वास्थ्यमा मात्र हानी नगरेर आर्थिक, सामाजिक र साँस्कृतिक सुरक्षामा समेत ठूलो असर पार्ने हुन्छन् । त्यसैले विज्ञान प्रविधिको उच्चतम विकास, आत्मनिर्भरताको योजना र उन्नत संस्कृति निर्माण गरी भोगबिलासको सभ्यता, लुट र उपयोगितावादी सभ्यताको अन्त्य गर्नुपर्दछ । कोरोना महामारीको वर्तमान सन्दर्भमा सरकार सशक्त, प्रतिबद्ध र जनताप्रति जवाफदेही हुनुपर्छ भने जनता पनि अनुशासित र जिम्मेवार बन्नुपर्छ । नयाँ नयाँ संक्रमणहरुलाई पूर्णरुपमा विस्थापित गर्न नसके तापनि स्वार्थले ग्रस्त भएको उपभोक्तावादी संस्कृतिले अठ्याएको अवस्थालाई परिवर्तन गरी आत्मनिर्भरताको बाटो पहिल्याउने र प्रकृतिसँग विनाशकारी सम्बन्ध होइन कि समन्वयकारी भूमिकामा रहँदा केही भएपनि नयाँ नयाँ रोगव्याधीहरुलाई कम गर्न सकिन्छ । कोरोनाले धनीगरिव, ठूलोसानो, दयामाया, अग्लोहोचो, पुरुषमहिला, जातधर्म केही नभने जस्तै राजनीतिक प्रतिष्पर्धाले सिर्जना गरेका विभाजन, जात र धर्मले खडा गरेका पर्खाल, संस्कृतिले ल्याएको सामाजिक पृथकतालाई भत्काउँदै सामाजिक न्याय र समतामूलक राज्य व्यवस्था स्थापना गर्न ध्यान दिनु आवश्यक छ ।
लेखक: अनिल किशोर घिमिरे , अध्यक्ष अखिल नेपाल युवक संघ

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार