
दिवसराज पौडेल
झिलिमिलि बत्तीहरुले सुनसान अध्यारा रातहरुलाइ कमजोर बनाउनु पर्ने, एक बर्ष पर्खेर बल्ल फुल्ने अवसर पाएको मखमलीहरु म को भन्दा कमि छु र भन्दै हावा का झोका संगै कहिले उत्तर कहिले दक्षिण गरिरहेका फुलहरु एउटै मालाको डोरीमा उनिनु पर्ने , चारै दिशामा माटाका पालामा संसारै उज्यालो गराउँछु भन्दै दियो दन्किरहनु पर्ने , सँघारमा हालिएका बसुधाराहरु तप तप भुइँमा चुहिनु पर्ने , कोमल , मुलायम अनि करोडौं करोड खुसीको भारी बोकेर लक्ष्मीका पाईलाहरु घरको आगनमा देखिनुपर्ने, गाउँ नै बसाउने गरि बनाइएका रोटीहरुले मुखको स्वाद फेर्नु पर्ने , काग कराउँदै मेरो घरको बतासिमा बसेर टपरीको भात खाँदै गर्नुपर्ने , घाटीमा आधा उनिएको माला लगाएर काले कुकुर मेरो घरको आगनमा घाम तापिरहेको हुनुपर्ने
तर बिडम्बना न त यो गल्लिमा दशैं आएको थियो न त तिहार नै आउला भन्ने आशा बाँकी छ । अरु गल्लीहरुमा झिलिमिली जति चम्किन्छन त्योभन्दा बढी चम्किन्छ यहाँका घरका आगनमा चिसो सिरेटोले परिरहेका शीतका थोपाहरु । सामाजिक दूरी कायमै गरेर बनाइएका यी गल्लीका घरहरूमा पनि अनुहारमा चाउरी परेका जेन तेन प्राण धान्नकै लागि सिन्कीको झोल सम्म उमाल्न सक्ने अस्ताउँदा अनुहारहरु मात्रै छन । ती रङ्ग उढेका फिका अनुहारमा तिहारले कुनै उत्साह ल्याउन सकेको छैन । मारुनी गीत घन्काउँदै भैलो भन्दै हिँड्न सक्ने सामर्थ्य बोकेकाहरू छोराहरु सबै विदेसिएका छन् । भर्खर जन्मिएको नातिलाई यो गाउँको कुरुपताले नछोस भन्दै बुहारी सहर पसेकी छे ।