त्रिशुली दुर्घटना अपडेटः अझै फेला परिनन् ११ वर्षीया जेनिसा

मङ्सिर ११ काठमाडौं । बिहीबार बिहान त्रिशुलीमा भएको जिप दुर्घटनामा परी हराइरहेकी ११ वर्षीया बालिका जेनिसा रोका अझै फेला परेकी छैनन् । जेनिसाको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले नदीमा डुबेको जिप निकाल्ने प्रयास भइरहेको जानकारी दिँदै बालिकालाई गाडीले च्यापेको हुनसक्ने आशंका गर्नुभएको छ ।

‘सशस्त्र प्रहरीको गोताखोर टोलीले बालिकाको खोजी गरिरहेको छ । उनको अझै पत्ता लाग्न सकेको छैन’ डीएसपी थापाले भन्नुभयो, ‘नदीभित्र डुबेको जिपले बालिकालाई च्यापेको छ कि भन्ने आशंका छ । जिप निकाल्ने प्रयास भइरहेको छ ।’

सशस्त्र प्रहरीले यसअघि जिप चालक सूर्य केसी र जमुना रोकाको शब घटनास्थलबाट निकालेको थियो । उहाँहरुको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।

अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार चढेको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा खसेको हो । जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका, छोरी जेनिसा र चालक सूर्य केसी बेपत्ता भएकोमा जिसँगै जमुना र चालक केसीको शव फेला परेपनि बालिका हराइरहेकी छन् ।

उपाध्यक्ष रोका नदीमा पौडेर बाहिर निस्कन सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रोकाको अवस्था सामान्य छ ।

उपाध्यक्ष रोका दम्पती छोरीको उपचारका लागि बुधबार राति प्युठानबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो । त्यही क्रममा सो दुर्घटना भएको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार