
मङ्सिर २५ बुटवल ।
लालटीन कृषि सहकारी संस्थाले प्याकेजिङ उद्योग शुरु गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशकाे साधेदारीमा सञ्चालन हुन लागेको प्याकिङ उद्योगकाे विहिबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले शुभारम्भ गरेका हुन् ।
उपभोक्ता पसलको अवलोकन तथा प्याकेजिङ उद्योगको शुभारम्भ पश्चात अध्यक्ष कंडेलले सहकारीलाई पारदर्शी र सरल बनाउन सुझाव दिए । उनले नेपालमा सहकारी पसल सञ्चालन गर्नु आफैमा चुनौती रहेको बताउँदै लालटीनले छोटो अवधिमा पनि नाफा लैजान गरि काम गर्नु सकरात्मक भएको बताए । उनले यस्ता सहकारी पसलहरुले स्थानीय उत्पादनको प्रवद्र्धनमा गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष कंडेलले सरकारले समेत थोक उपभोक्ता सहकारीको अवधारणा अघि सारेकाले लुम्बिनीमा समेत त्यसको तयारीमा जुट्न सहकारीहरुलाई आग्रह गरे ।बुटवल ११ देविनगरमा सञ्चालित लालटिन उपभोक्ता पसललमा दैनिक उपभोग्य सामाग्रीसँगै स्वदेशमा उत्पादित कृषि उपजलाई प्राथमिकतामा राखेर विक्रि गर्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष गंगालाल सापकोटाले बताए ।
उनका अनुसार २ हजार शेयर सदस्य रहेको सहकारीले पसल र सहकारीको कारोबारमा ८ प्रतिशत मुनाफा गरेको छ । सहकारीले गेडागुडी, दाल तथा अन्य कृषि उपजको अब आफ्नै उद्योगमा प्याकेजिङ शुरु गरेको सचिव राजु पौडेलले बताए ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचन, लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष डा खगराज शर्मा, नेफस्कूनका सञ्चालक सन्दीप सापकोटा, जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौडेलले समेत सहकारी पसल र उद्योगको अवलोकन गरेका थिए ।