मङ्सिर २५, सुपादेउराली अनलाइन बुटवल । राष्ट्रिय जनमाेर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले दक्षिणतिरबाट नेपालको भूगोलमाथि आक्रमण भइरहेको दावी गर्नुभयो ।
गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा, सङ्घीयता र भ्रष्टाचारको विरोधमा बिहीबार बुटवलमा आयोजित सभालाई सम्बाेधन गर्दै अध्यक्ष केसीले नेपाली जनताले लामो समयसम्म कुरबानी गरेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षले गणतन्त्रको दुरूपयोग गरेको आरोप लगाउनुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्षबाटै प्रतिगमनको खतरा रहेकोसमेत बताउनुभयो ।
छिमेकीले नेपालमा हिन्दु राज्य कायम गराउन खोज्दा पनि सत्तापक्ष र प्रतिपक्ष मौन रहेकाले सत्ता पक्ष र प्रतिपक्षबाट पनि प्रतिगमनको खतरा रहेको अध्यक्ष केसीको तर्क छ । अहिलेको पुँजीवादी गणतन्त्र सबै नभएको र जनताको गणतन्त्र आउन बाँकी रहेको उल्लेख गर्दै जनताले चाहेको गणतन्त्र ल्याउन परिवर्तनका उपलब्धिहरूको रक्षा गर्नुपर्ने बताउनुभयो ।
गणतन्त्रको विकल्प राजतन्त्रको कल्पना पनि गर्न नसकिने बताउँदै उहाँले हिजो राजाबाट फाइदा ल्याएकाहरू आज सडकमा नारा लगाउँदैमा राजतन्त्र फर्कन सम्भव छैन भन्नुभयो ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले राजावादी र अन्य प्रतिगामीहरूबाट गणतन्त्र, धर्म निरपेक्षतामाथि खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेपाललाई हिन्दु राज्य बनाउने षड्यन्त्र भइरहेकाले जनतालाई सचेत बनाउनुपर्ने र गणतन्त्रवादी शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड लदिनुभयो ।
उहाँले सत्तामा रहेको नेकपा कम्युनिस्ट पार्टी नभएको दावी गर्दै नामले मात्र कोही पनि कम्युनिस्ट हुन नसक्ने बताउनुभयो । सत्तापक्षले सत्ता र शक्तिको दुरूपयोग गरेर भ्रष्टाचार गर्दा पनि प्रतिपक्ष बोल्न नसकेको बताउँदै भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्षको तालमेल रहेको दाबी गर्नुभयो ।
उहाँले नेपालमा सङ्घीयता असफल सिद्व भइसकेको बताउँदै समयमा नै प्रादेशिक संरचना खारेज नगरिए कालान्तरमा सङ्घीयताले देश नै खारेज गर्न सक्ने बताउनुभयो । भ्रष्टाचार, अनियमितता, महङ्गी, कालोबजारी, तस्करीले सीमा नाघेको उल्लेख गर्दै हिजो चप्पल लगाएर काठमाडौँ गएका नेताहरूका कसरी बने करोडौंका महल र सम्पत्ति जोडे ? अब छानबिन गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश सांसद तारा जिसीले सङ्घीय संरचना देशले धान्न नसक्ने बताउँदै अर्काको भर गरेर ऋणमा सङ्घीयता टिकाउन नसकिने बताउनुभयो ।
कार्यक्रममा नेकपा (मसाल) का रुपन्देही प्रवक्ता नारायण जिसी र राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला सदस्य नेत्र आचार्यले पनि सम्बोधन गर्नुभयो ।
कार्यक्रम राजमो रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता, रुकबहादुर पराजुलीको स्वागत र सचिव टानबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।