गोपाल प्रसाद भट्टराई
बैशाख–१२,अर्घाखाँची
नेकपा मसाल अर्घाखाँचीले कोरोना भाइरसको संक्रमणले मुलुकको स्थिती भयाबह हुन नदिन सबै सचेत हुनुपर्ने बताएको छ । विश्वलाई नै आतंकित बनाएको यो भाइरसको संक्रमण र सन्त्रासलाई कम गर्न सबैले ब्यक्तिगत साबधानी अपनाउनु नै उपयुक्त उपाय भएको भन्दै नेकपा मसालले सेल्फ क्वारेन्टाइनमा बस्न आम जनसमुदायलाई आग्रह गरेको छ । पार्टी प्रवक्ता पशुपति ढकालले हिजो एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो । नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना ब्यक्त गर्दै प्रवक्ता ढकालले पार्टीको आन्तरिक संगठनलाई बलियो बनाउन नेता कार्यकर्ता एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ । विश्व कोरोनाको कहरले आक्रान्त बनिरहेको बेला सरकारले अध्यादेश जारी गरेर बेमौसमी बाजा बजाएको उहाँको आरोप छ । लोकतान्त्रिक मूल्य, र मान्यतालाई समाप्त पारि निरंकुश शासनतर्फ उन्मुख गर्ने श्रृखलाबद्ध कदम भन्दै प्रवक्ता ढकालले तत्काल फिर्ता लिन पनि माग गर्नुभएको छ । नेपालको समग्र अवस्थाको अधारमा कोरोना संक्रमण स्थिति भयावह हुन सक्ने भन्दै प्रवक्ता ढकालले भन्नुभएको छ,“घरमै बस्ने,सरसफाई तथा खानपानमा ध्यान दिने,कोही कसैलाई रुघाखोकी लाग्ने,टाउको दुख्ने,ज्वरो आउने जस्ता समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजान सहयोग गर्नुपर्दछ । ” उहाँले अगाडी थप्नुभएको छ,“मुलुक र जनताको निम्ती खाँचो परेमा हामीले पार्टीको सिंगो शक्ति परिचालन गर्नेछौं । ” प्रवक्ता ढकालले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि,उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन सरकारलाई आग्रह समेत गर्नुभएको छ । नेपाली जनताले इतिहाँसमा ठुला लाडाई जितेको स्मरण गराउँदै प्रवक्ता ढकालले कोरोना संग पनि नेपालीले जितेरै छाड्ने दृढता ब्यक्त गर्नुभएको छ । कोरोनाको संक्रमण फैलन नदिन विदेश तथा अन्य जिल्लाबाट अर्घाखाँची आएका नेपालीहरुले बिशेष शतर्कता अपनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । यस्तै स्थानिय सरकारको सक्रियता थेतुलो भएकोले थप क्रियाशिलता देखाउन माग गर्दै प्रवक्ता ढकालले दैनिक उपभोग्य बस्तु,औषधी लगायतका समाग्री सहज रुपमा पाउने बातावरण मिलाउन र कालोबजारी हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय एकता र उच्च मनोबलका साथ कोरोना भाइरसको सामना गर्न नेकपा मसाल अर्घाखाँचीले सबैमा अनुरोध गरेको हो ।