संसद विघटनले देशमा अर्को संकट थप्यो: अध्यक्ष चित्रबहादुर

श्यामलाल पोखरेल
सुपादेउराली अनलाइन बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यष चित्रबहादुर केसीले संसद विघटनले देशमा अर्को संकट थपिएको बताउनुभएको छ । गणतन्त्र र धर्मनिरपेक्षता संकटमा परेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि देशमा अर्को संकट आएको तर्क गर्नुभयो । विघटित संसद पुर्नस्थापना गर्नुपर्ने र त्यसका लागि दबाव सिर्जना गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाले संसद विघटन, संघीयता, भ्रष्टाचारका विरुद्ध र गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको पक्षमा रुपन्देहीको सैनामैनामा आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलीले जनताप्रति विश्वास घात गरेको दावी गर्नुभयो । ओली, प्रचण्डबीच शक्ति र पद बांडफांडमा आपसी सहमति नमिल्दा देशमा राजनीतिक संकट उत्पन्न भएको अध्यक्ष केसीको भनाइ छ । उहांले सरकारको गलत नीतिका कारण देशमा भ्रष्टाचार र कुसाशन मौलाएको बताउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका चित्रबहादुर केसीले संघीयताले देशमा भ्रष्टाचार, अनियमितता, कुसाशन बढेको उल्लेख गर्दै संघीयता असफल भएको दावी गर्नुभयो । उहांले राजनीति सेवामुखि नभएर कमाइ खाने भांडो भएकाले राजनेताहरुलाई जनताले घिणा गर्न थालेको बताउंदै राजनीतिक दलप्रति जनता रुष्ट भएको बताउनुभयो । नेपालको भूगोल र जनसंख्यामाथि भारतीय हस्तक्षेप बढेकाले त्यसप्रति हुनुपर्नेमा जोड दिनुभयो । तराईका २० वटा जिल्ला पहाडबाट अलग गराउने दक्षिणको योजना अनुसार तराईका नेताहरुको सक्रियतामा तराईमा पर्ने आठवटा जिल्ला पहाडबाट अलग गराइनु नै भूगोल र जनतामाथिको हस्तक्षेप भएको अध्यक्ष केसीको भनाई छ । लुम्बिनी प्रदेश सांसद तारा जीसीले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कमद भएको बताउनुभयो । संघीय संरचना अनुसारका प्रदेश खारेज गर्ने बेला प्रधानमन्त्रीले संसद विघटन गरेर गम्भीर गल्ती गरेको दावी गर्नुभयो । सोही सभामा तराई– मधेश जनवादी मोर्चाका केन्द्रिय अध्यष बद्रे आलम, नेकपा मसाल रुपन्देही प्रवक्ता नारायण जीसी, राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसी, नरबहादुर थापा लगायतले बोल्दै भारतको बढ्दो हस्तक्षेप र राजावादीहरुको चलखेल बढेको बेला संसद विघटन हुंदा गणतन्त्र संकटमा परेको बताउनुभयो । लालबहादुर इात्रीको अध्यक्षता र गणेश गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो । उक्त बिरोध सभामा रुपन्देहीको सैनामैना निवासी ३४ जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई अध्यक्ष केसीले अविर लगाइ स्वागत गर्नुभएको थियो । विभिन्न दलमा आस्थावान राष्ट्रिय जनमोर्चाले अघि सारेका कार्यक्रम र राष्ट्रिय जनमोर्चाको नीति मन परेको भन्दै सदस्यता माग भएपछि पार्टी प्रवेश गराइएको राष्ट्रिय जनमोर्चा नेता कृष्णवम मल्ले जानकारी गराउनुभयो । संसद विघटन, संघीयता, भ्रष्टाचारका विरुद्ध र गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको पक्षमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यक्रम अनुसार रुपन्देहीको सैनामैनामा शुक्रबार समापन गरिएको छ ।     सभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार