राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संघियताले देशलाई आर्थिक भार थपेको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा दाङले आज घोराहीमा गरेको बृहत प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देश संघियतामा गएपछि ८३ प्रतिशत रकम साधारण खर्चमा भएको बताउनुभयो । उहाँले १७ प्रतिशत रकमले देशको विकास नहुने बताउँदै संघियताको खारेजीको विकल्प नरहेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री केपि शर्मा वलीले विदेशी शक्तिको चाहना अनुरुप नै संसद विघटन गर्नुभएको आरोप समेत लगाउनुभएको छ । नेकपा सरकारको शासन अरु शासकको भन्दा कम नभएको उल्लेख गर्दै अध्यक्ष केसीले केन्द्र सरकारको असर प्रदेश सरकारमा पर्दै गएको बताउनुभयो ।
दुईतिहाई बहुमत सरकार जनताका भन्दा पनि आफ्ना समस्यामा बढी गम्भिर रहेको बताउँदै उहाँले देशमा अहिले विदेशीको सहयोग आवश्यक भन्दा पनि भ्रष्टचारका न्युनिकरण आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष केसीको प्रमुख आतिथ्यतामा बृहत प्रदर्शन भएको हो । जिल्ला उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सरकारको असंवैधानिक कदमका विरुद्ध जनता सडकमा आउन बाध्य भएको बताउनुभयो । कार्यक्रममा नेकपा मसालका प्रवक्ता भरत भण्डारीले संसद विघटन गरेर सरकारले जनमतको अपमान गरेको बताउनुभयो ।
गणतन्त्र धर्मनिरपेक्षता, राष्ट्रियताको रक्षा तथा संघियता र भ्रष्टाचारका विरुद्ध विभिन्न चरणमा आन्दोलनका कार्यक्रम गर्दै आएको जनमोर्चाले आज घोराहीमा बृहत बिरोध प्रदर्शन गरेको हो । कार्यक्रमको सहजीकरण जिल्ल्ला सचिव बसन्त पौडेलेलले गर्नुभएको थियो ।