अपमान परराष्ट्र मन्त्रीको वा सम्पूर्ण नेपालको ?

मोहनबिक्रम सिंह
समाचार माध्यमहरूमा भारतीय प्रधानमन्त्री मोदीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट्न नदिएको समाचार बाहिर आएका छन् । त्यो अपमान परराष्ट्र मन्त्रीको हो वा सम्पूर्ण नेपालको ?

भारतबाट नेपाल आउने कुनै पनि व्यक्तिले सजिलैसित नेपालका प्रधानमन्त्री वा राष्ट्रपतिलाई भेट्न सक्छन् । हालसालै भारतीय ‘रअ’का प्रमुख, प्रधानसेनापति, विदेश सचिवले पनि सजिलैसित प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका थिए । तर नेपालबाट औपचारिक कार्यक्रम अनुसार भारतमा गएका नेपाल सरकारका परराष्ट्र मन्त्रीले कति कोशिस गर्दा पनि प्रधानमन्त्रीलाई भेट्न समय पाएनन् र परराष्ट्रमन्त्री अपमानको ठूलो भारी बोकेर नेपाल फर्केका छन् ।

नेपालको अपमान भयो, त्यो सरकारले अपनाउँदै गएका गलत नीतिको परिणाम हो । सरकारले बारम्बार भारतका अगाडि दब्बू नीति अपनाउँदै गएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेकबारे त्यसले सही र दृढ नीति अपनायो । तर त्यस प्रकारको दृढतालाई त्यसले निरन्तरता दिन सकेन ।

नेपालको कालापानी समेतको विषयमा वार्ताको लागि बारम्बार भारतलाई लेखेर पठायो । तर त्यो वार्ताको लागि भारत सहमत भएन । अहिले परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डल भारत जा“दा पनि दुई पक्षीय वार्तामा त्यो विषयमा वार्ता हुन सकेन ।

संसदले पारित गरेको नक्सालाई पनि प्रधानमन्त्री ओलीको निर्देशनमा पाठ्यक्रमबाट हटाउन लगाइयो । यो कुरा बुझ्न गाह्रो पर्दैन कि भारत अप्रसन्न नहोस् भन्नका लागि नै त्यसो गरिएको थियो ।

नेकपाभित्र चलेको अन्तर कलहको कारणले ओलीको अध्यक्ष र प्रधानमन्त्रीका पद धरापमा परेका थिए । त्यो अवस्थामा सही तरिका त्यो विवादलाई आफ्नो सङ्गठनभित्र नै टुङ्गाएर बहुमतको निर्णयलाई मानेर काम गर्नु नै हुन्थ्यो । त्यो नेकपा देश र स्वयं ओलीको पनि सम्मान र हितमा हुन्थ्यो । तर उनले उल्टो बाटो समाते । आफ्नो पदको लागि सङ्गठनको एकता, संसद, सरकार र सम्पूर्ण देशलाई समेत बाजी थापे । उनले सोचेका हुन सक्दछन्, त्यसरी उनको स्थिति बलियो हुने छ । तर वास्तविकता यो हो कि आफ्नो त्यस प्रकारको गलत नीतिका कारणले उनी देशभित्र र अन्तर्राष्ट्रिय जगतमा पनि धेरै नै बदनाम र कमजोर पनि भएका छन् । त्यसको एउटा परिणाम दिल्लीमा नेपालका परराष्ट्र मन्त्रीको अपमान पनि हो ।

आफ्नो अस्तित्व बचाउनका लागि उनी नेपाली काङ्ग्रेसका नेता शेरबहादुरसित गुहार माग्न पुगे । उनको त्यो दौड यहाँसम्म पुग्यो कि उनी आफ्नो रक्षाका लागि भारतको शरणमा पनि पुगे । गोयलसितको उनको गोप्य वार्ता त्यसैको परिणाम थियो । कतिपय स्रोतबाट प्राप्त जानकारी अनुसार नेपालबाट फर्केपछि गोयलले यो सम्म भनेका थिए : ‘हामीले चाह्यौँ भने ओलीले दुई घन्टाभित्र प्रधानमन्त्रीबाट राजीनामा दिनेछन् । त्यसले बताउँछ, भारतका अगाडि अब उनको मूल्य कति रहेको छ ? संसदको विघटनपछि उनी अब संसदको सदस्य पनि रहेका छैनन् । त्यो अवस्थामा उनको सरकार काम चलाउ सरकार भएको छ । तर उनले पुरा र अधिकार सम्पन्न सरकार भएको दाबी गरिरहेका छन् । तर नेपालका जनता मात्र होइन, पुरै संसार उनको त्यो दाबी स्वीकार गर्न तयार छैन । त्यसरी ओलीले आफूलाई एउटा हास्यास्पद पात्रको रूपमा परिणत गरेका छन् । आफ्नो पार्टीलाई फुटाएर संसदको विघटन गरेपछि उनी कति कमजोर भएका छन् ? त्यो कुरा शेरबहादुरले उनलाई खेलाइरहेको कुराबाट थाहा हुन्छ । ओलीले प्रधानमन्त्रीको पदसम्म दिने गरेर शेरबहादुर देउवाको अनुग्रह प्राप्त गर्ने कोशिस गरिरहेका छन् । तर देउवाले जवाफ दिने गरेका छन्, ‘यसबारे मैले पछि विचार गर्ने छु ।’ ओलीको गलत नीतिले उनको सम्पूर्ण सङ्गठन नै कमजोर भएको छ । विभाजित ओली तथा प्रचण्ड–माधव दुवैको स्थिति कमजोर भएको छ । त्यसका लागि मुख्य दोषी ओली नै छन् ।

करिब दुईतिहाई बहुमतको सरकारको रूपमा नेकपाको सरकारको देशभित्र बलियो स्थिति थियो भने अन्तर्राष्ट्रिय रूपमा पनि त्यसको इज्जत थियो । तर संसदको विघटन भएर काम चलाउ बनेको सरकारको अब त्यो इज्जत रहेको छैन । मोदीलाई भेट्न परराष्ट्रमन्त्रीले गरेको प्रयत्न पनि ओलीको अहिलेको स्थितिको परिणाम हो ।

ओलीको असंवैधानिक कदमका विरुद्ध देशमा आन्दोलन बढ्दै गइरहेका छन् र ती अरू बढ्दै जानेछन् । ती आन्दोलनका विरुद्ध ओलीले पनि ठूलाठूला सभाको आयोजना गर्दैछन् । तर स्वयं ओलीको निम्नस्तरको र अराजनीतिक प्रकारको भाषाशैलीले यी सबै ठूलाठूला सभालाई तमाशा बनाउँदै लगिरहेको छ । स्वयं ओलीको त्यसप्रति ध्यान गएको छ ?

ओलीले भूतपूर्व प्रधानन्यायाधीशहरूले उठाएका संवैधानिक प्रश्नहरूको जवाफमा तल्लो स्तरमा उत्रेर उनीहरूलाई गाली गर्ने गरेका छन् । वकिलहरूलाई संविधान नपढेको भनेर हप्काउँदै छन् । बहुमत सहित अलग भएका आफ्नै साथीहरूलाई भगौडा बताउँदै छन् । पार्टीका कैयौँ पुराना र कर्मठ नेताहरूलाई केटा र ठिटा भनेर अपमान गर्दैछन् । उनको निम्न स्तरीय र अराजनीतिक भाषा शैलीका यी केही उदाहरण मात्र हुन् । यस प्रकारका सयकडौँ उदाहरण छन् । त्यस प्रकारको गाली गलौजको भाषा प्रयोग गर्ने बेलामा उनले ख्याल गर्नुपर्ने एउटा कुरा हो : उनी नेपालका प्रधानमन्त्री हुन् र उनले जे बोल्छन्, त्यो सारा संसारमा सुनिन्छ ।

वास्तवमा खाली दिल्लीमा प्रधानमन्त्री मोदीले परराष्ट्र मन्त्रीलाई भेट नदिएको कारणले मात्र होइन, ओलीको सम्पूर्ण व्यवहार, कार्यशैली वा भाषाशैलीका कारणले संसारभरि नेपालको बेइज्जती भइरहेको छ । अर्का शब्दमा, त्यसरी स्वयम् उनी हल्का हुँदै गइरहेका छन् भने उनले विश्वका अगाडि नेपाललाई पनि हल्का बनाउँदै गइरहेका छन् । 

लेखक: नेकपा (मसाल) का महामन्त्री हुन् । 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार