गर्भपतन रोक्ने ७२ घण्टे औषधिको मनपरी प्रयोग-‘कलेज ड्रेसमै किन्न आउछन्’

२०५९ सालसम्म नेपालमा गर्भपतन गर्नु अपराध थियो । तर जब सन्तान जन्माउने कि नजन्माउने अधिकार महिलामा हुने भन्दै आवाज उठ्न थालेपछि नेपालमा २०५९ सालदेखि गर्भपतनलाई कानुनी मान्यता दियो र अनिच्छाको गर्भलाई रोक्ने कानुनी आधार तयार भयो ।

तर अहिले अनिच्छाको गर्भ रोक्नका लागि गर्भपतन नै गराउनु पर्ने दिन सकिएको छ । अहिले बजारमा १ दर्जनभन्दा बढी त्यस्ता आकस्मिक गर्भनिरोधक चक्की अर्थात् औषधि पाइन्छन् जसले अनिच्छामा गर्भ बस्ने खतराबाट मुक्ति दिन्छ । अर्थात् असुरक्षित यौन सम्पर्क भइहालेपनि ७२ घण्टाभित्र यस्तो औषधिको सेवन गरेमा यसले गर्भ बस्न दिँदैन ।

तर यो औषधिको प्रयोग अहिले यत्ति धेरै बढ्न थाल्यो कि यसलाई चकलेट झैँ प्रयोग गर्न थालियो । मतलब, जुन बेला मन लाग्यो त्यहीबेला, जसरी मन लाग्यो त्यसरी पसल पसलबाट यसको विक्री अनि प्रयोग भइरहेको छ ।

यसको प्रयोग, विधि र असरबारे आम प्रयोगकर्तालाई बुझाउन नसक्दा यसले गम्भीर स्वास्थ्य समस्या ल्याउने खतरा पनि बढ्दै गएको छ ।

पछिल्लो समय विवाहित भन्दा पनि अविवाहित महिला र किशोरीहरुले गर्भ निरोधक चक्कीको प्रयोग बढी गर्ने गरेका छन् । विभिन्न फार्मेसीमा विक्रीको रेकर्ड हेर्दा कण्डम लगायतका साधनहरु भन्दा गर्भनिरोधक चक्कीहरुको बिक्री तेब्बर देखिन्छ । यस्ता औषधि सहज रुपमा बजारमा उपलब्ध हुने र डाक्टरको प्रेस्कृप्सन पनि नचाहिने भएको कारण यो औषधिको प्रयोग र बिक्री बढिरहेको फर्मासिस्ट
जीतबहादुर मगर बताउछन् ।

उमेर नै नपुगी शारीरिक सम्बन्ध राख्नेदेखि सुरक्षा विधि नअपनाई यौनसम्बन्ध राख्ने क्रम पछिल्लो समयमा बढिरहेको छ । अहिले बजारमा ‘७२ घण्टे चक्की’का नाममा यस्ता औषधिको प्रयोग भइरहेको छ । मतलब कण्डम प्रयोगको अनिच्छालाई विकल्पका रुपमा यस्ता औषधिलाई बरदान सम्झिएका छन्, किशोरीहरुले । सोह्रखुट्टेमा फार्मेसी सञ्चालन गरिरहेका मगर लकडाउनको समयमा त यस्ता औषधिको प्रयोग अझ बढेको बताउँछन् । अहिले पनि सार्वजनिक विदाको दिन वा शनिवार यस्ता औषधिहरुको बिक्री बढी हुने गरेको उनको भनाई छ ।

आकस्मिक गर्भनिरोधक चक्कीका नाममा अनवाण्टेड सेभेन्टी टु, इकोन, आइपिल, ओके जस्ता चक्की लिन आउनेहरुमा विवाहित भन्दा अविवाहित महिला र किशोरीहरु बढी हुने गरेको बालाजुका एक औषधि पसले बताउँछन् ।

उनका अनुसार कन्डम, पिल्स, कपर्टी, संगिनी सुई विवाहितले प्रयोग गर्छन् भने इकोनसँगै आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्नेमा किशोरी र युवती बढि छन् । उनी भन्छन्, कतिपय त कलेज ड्रेसमै इकोनजस्ता ७२ घण्टे चक्की माग्ने गरेको औषधि पसल सञ्चालक हरिनाथ भण्डारी बताउछन् ।

कुनै पनि गर्भनिरोधक साधनले शतप्रतिशत गर्भनिरोध गर्ने ग्यारेन्टी दिँदैन । अझ आकस्मिक गर्भनिरोधक औषधिको प्रभावकारिता त त्यो भन्दा पनि कम हुन्छ । विश्व स्वास्थ्य संगठनले यस्ता औषधिको प्रभावकारिकता ८७ प्रतिशतसम्म हुने बताएको छ । विश्व स्वास्थ्य संगठनले आकस्मिक गर्भनिरोधक औषधिका रूपमा लेभोनोर जेस्ट्रेल र युलिप्रिस्टललाई मान्यता दिएको छ । यस्तो औषधिका रुपमा लिभोनोरजेस्टेल खाने हो भने १ दशमलब ५ मिलिग्रामको एक मात्रा र युलिप्रिस्टल खाने हो भने ३० मिलिग्राम खानुपर्ने डब्लुएचओको तथ्यपत्रमा उल्लेख छ ।

तर विश्व स्वास्थ्य संगठनले यस्तो औषधिको प्रयोग गर्दा निश्चित विधि, मात्रा आदि ख्याल गर्नुपर्ने भनेको छ । एक महिना वा वर्षमा कति पटकसम्म खान मिल्छ, यसको साइड इफेक्ट के के हुनसक्छ, कस्तो अवस्थामा खान हुँदैन भन्नेबारे बोलेको भएपनि नेपालमा भने यसको बेमतलबी र निस्फिक्री प्रयोग बढिरहेको छ ।

भर्खर किशोरी अवस्थामा पुगेकादेखि आफ्ना प्रेमीसँग सम्बन्धमा रहेकी युवतीहरुले समेत यस्ता औषधिको प्रयोगलाई तीब्रता दिइरहेका छन् । जबकि यस औषधिको प्रयोगमा ध्यान दिन नसके यसले भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्नेछ । यस्ता औषधिको अत्याधिक प्रयोगले विभिन्न स्वास्थ्य समस्या ल्याउनेदेखि भविष्यमा गर्भ नै नबस्नेसम्मको खतरा ल्याउनेछ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार