ओली समूहको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा निरु पालले फेरि भनिन् – संघीयता खारेज गरौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ निरु पालले फेरि संघीयता खारेज गर्न आग्रह गरेकी छन् । उनले बिहीबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री ओलीलाई संघीयता खारेज गर्न आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री ओलीका विश्वासपात्र मध्येमा गणना हुँदै आएकी नेतृ पालले संघीयता खारेज गरेर स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउन पनि सल्लाह दिएक छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गर्न आग्रह गर्दै नेताहरुको सुरक्षा पनि कटौती गर्नुपर्नेमा जोड दिएकी छन् ।

नेतृ पालले संघीयता खारेजको माग गर्दा आफूलाई पार्टीले कारबाही गर्दा पनि फरक नपर्ने उल्लेख गर्दै पार्टीले टिकट दिएर चुनावमा पठाउँदा जनताले पराजित गरे पनि स्वीकार्नेसमेत बताएकी छन् ।

नेपाल जस्तो आर्थिक् स्थिति कमजोर भएको सानो मुलुकले संघीयता नामको सेतो हात्तीले नधान्ने उनको जिकिर छ । नेतृ पालले संघीयता हुँदा मुठ्ठीभर नेताहरु खुशी भए पनि जनता खुशी नरहेका आशय व्यक्त गरेकी छन् ।

“सम्माननीय प्रधानज्युलाई फेरीपनी मेरो अनुरोध छ !!! मलाई पार्टीले कारबाही गरे पनि गरोस कुनै दिन टिकट पाएछु र जनताले हराएछन् भने पनि ठीकै छ सहुँला । तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक, प्रत्येक नेपालीको टाउकोमा विदेशीको रिन छ तसर्थ प्रधानमन्त्रीज्यू यो संघीयता नामकोे सेतो हात्ती हाम्रो मुलुकले धान्दैन । मुठ्ठी भर नेता त खुशी छौं, कोही मुख्यमन्त्री, कोही प्रदेश मन्त्री, कोही सांसद छौं । तलब भत्तामै देशको ढुकुटी न सिध्याऔं । जनताले चाहेको अधिकारको विकेन्द्रीकरण हो । बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलोमा सर्वसुलभ ढंगले सेवा पुर्‍याऔं । तर प्रदेश सरकार खारेज गरौं !! प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं सम्माननीय प्रधानमन्त्रीज्यू !! तर हाम्रो मुलुकले यत्रो तामझाम बेहोर्न सक्दैन । नेताहरुको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्रीज्यू यही एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ । मेरो अनुरोध हजुरलाई !!,” उनले फेसबुकमा लेखेकी छन् ।

यसअघि पुस १६ मा पनि नेतृ पालले प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालमार्फत् नै संघीयता खारेज गर्ने आँट गर्न आग्रह गरेकी थिइन् ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार