
नेकपाका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रियपात्र गोकुल बास्कोटाले नेपालमा संघीयता आवश्यक नभएको बताउनुभएको छ ।
सोमवार योहो टेलिभिजनसँग कुरा गर्दै बास्कोटाले नेपालमा संघीयता धान्न कठिन भएको बताउनुभएको हो । ओली नेतृत्वको सरकारमा दुई वर्षभन्दा बढी सञ्चारमन्त्री समेत रहेका बास्कोटाले प्रदेश सरकारको त झन कामै नभएको टिप्पणी गर्नुभयो ।
‘प्रदेश सरकारले केन्द्र सरकारको बजेट स्थानीय तहमा पठाउने बाहेक अरु कुनै काम गर्नै सकेन’, उहाँले भन्नुभयो, ‘यसले आर्थिक मुलुकलाई ठूलो आर्थिक भार भएको छ । बास्कोटाले प्रदेशको अधिकार कटौती गरेर स्थानीय तहलाई मजबुत बनाउन आवश्यक रहेको आवश्यक रहेको टिप्पणी गर्नुभयो ।
२०६२/६३ को जन आन्दोलनको मूल मर्म संघीयता नभएको बास्कोटाको भनाइ छ । ‘कसैको लहलहैमा लागेर जनतामाथि संघीयता लादियो’, उहाँले भन्नुभयो, ‘संघीयता खारेज भए जनता पनि खुसी हुनेछन् ।’ विश्वका अन्य धेरै मुलुकमा समेत संघीयता सफल हुन नसकेको उहाले दाबी गर्नुभयो ।