
काठमाडौं । पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नेपालमा संघीयता आवश्यक थिएन भन्ने पुष्टि भएको बताउनुभएको छ ।
मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले प्रदेश सरकारहरूमा देखिएको अस्थिरताले नेपालमा यो संरचना आवश्यकै थिएन भन्ने पुष्टि भएको बताउनुभएको हो ।
एकपछि अर्को प्रदेशमा धमाधम सरकार परिवर्तनको लहर चलिहेका बेला नेता बाँस्कोटाले नेपालमा संघीयता आवश्यकै थिएन भन्ने आफूजस्ता मानिस खुसी भएको हुनुपर्ने बताउनुभयो ।
‘प्रादेशिक विकास र सेवा केन्द्रका रूपमा काम गर्ने प्रदेश सरकारहरूमा देखिएको अस्थिरताले नेपालमा यो संरचनाको आवश्यकता नै थिएन भन्ने मजस्ता संघीयता विरोधी प्राणी पक्कै खुसी होलान् भन्ने आशाका साथ, स्थिरताविरोधी तर अग्रगामी भनी स्वतः जानिने तत्त्वका खबर बुझ्ने इच्छा हुँदा यो कुरा लेखें’ पूर्वमन्त्री बाँस्कोटाले भन्नुभएको छ ।