एजेन्सी, महामारीको रुपमा फैलिएको कोरोना भाईरसको फैलावटको गति अझै रोकिएको छैन । संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । यसको उपचार र निदानका लागि पनि विश्वका कैयौं मुलुकमा शोध र अनुशन्धानहरु भैरहेका छन । फेरि पनि अचुक उपाय हात लागिसकेको छैन । कोरोना संक्रमण, उपचार र निको हुने क्रमसंगै नयाँ नयाँ तथ्यहरु उजागर भैरहेका छन ।
खासगरि कोरोना संक्रमण भएर उपचारपछि निको भएकाहरुमा पुनः कोरोनाको संक्रमण देखिनुले विश्व समुदायलाई फेरि हायल कायल बनाएको छ । यहि विषयलाई लिएर चिनियाँ वैज्ञानिकहरुले गरेको एक अनुशन्धानबाट नयाँ रहस्य पत्ता लागेको छ । जसअनुसार एक पटक कोरोना भाईरसको संक्रमण भैसकेपछि लामो समयसम्म विरामीको फोक्सोमा भाईरस लुकेर बस्न सक्छ ।
चीनमा उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका ब्यक्तिहरुमा साढे दुई महिनापछि पुनः कोरोनाको संक्रमण देखियो । दक्षिण कोरियामा पनि थुप्रै मानिसहरुमा संक्रमण दोहोरियो । ताईवान र भियतनामलगायतका मुलुकहरुमा पनि यस्ता थुप्रै केसहरु भेटिए ।
चाईना मर्निङ पोस्टमा प्रकाशित एक रिपोर्टका अनुसार परीक्षणमा नेगेटिभ देखिए पनि कोरोना भाइरस फोक्सोको गहिराईमा लुकेर बस्न सक्छ । त्यस्तै कोरिया सेन्टर फर डिजिज् कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक जियाँङ युका अनुसार मानव शरिर भित्र लुकेर बसेको कोरोना भाईरस पुनः सक्रिय हुँदा कोरोनाको संक्रमण दोहोरिएको हुनुपर्छ ।
चीनको सैन्य आयुर्विज्ञान विश्वविद्यालयका प्रमुख अनुशन्धानकर्ता डा. वियान शियूबुले एक प्रशंगको उल्लेख गरे । उनका अनुसार कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएकी एक ७८ बर्षीया महिलाको उपचारपछि तीन पटकसम्म परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यसपछि उनी अस्पतालबाट डिस्चार्ज भइन । केही समयपछि ति महिलामा कोरोना संक्रमण पुनः दोहोरियो ।
उनलाई पुनः २७ जनवरीमा अस्पताल भर्ना गरि उपचार गरी निको पारेपछि १३ फेब्रुअरीमा डिस्चार्ज गरियो । त्यसको भोलिपल्ट उनको हृदयघातका कारण मृत्यु भयो । ति महिलाको पोस्टमार्टम गर्दा कलेजो, मुटु र आन्द्रामा कोरोना भाईरस फेला परेन । तर फोक्सोमा कोरोना भाईरसको जिनेटिक अंश (स्ट्रेन) फेला पर्यो ।
यसलाई माईक्रोस्कोपबाट हेर्दा पनि कोरोना भाईरस भएको पुष्टि भयो । यस घटनालगायत अन्य थुप्रै घटनाहरुको अध्ययन पश्चात चिनियाँ वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका हुन । उनिहरुका अनुसार कोरोना स्ट्रेन मानव शरिरमा हुँदा कुनै लक्षण देखिंदैन । परीक्षणका लागि लिईने स्याम्पल फोक्सोको गहिराईबाट नलिईने हुनाले पनि रिपोर्ट नेगेटिभ आएको वैज्ञानिकहरुको ठहर छ ।