कांग्रेसको वडा अधिवेशन स्थगित

साउन ९, काठमाडौं। नेपाली काङ्ग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आसन्न चौधौँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ ।

काङ्ग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको साउन ९ गते बसेको बैठकले यही साउन १२ गते निर्धारित गाउँ, नगर, वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यही साउन १२ गते क्रियाशील सदस्यता छानबिन समितिका संयोेजक रमेश लेखकले समितिको प्रतिवेदन केन्द्रीय नेतृत्वलाई बुझाउने र त्यसपछि मात्रै वडा अधिवेशनको नयाँ मितिबारे निणर्य हुने उहाँले बताउनुभयो ।

काङ्ग्रेस क्रियाशील सदस्यताको सूचीमा पार्टी सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकिएको थियो ।

केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको हो । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा केन्द्रीय महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य महाधिवेशन कार्यतालिका हेरफेर गर्न सकिनेबारे छलफल भएको थियो ।

गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको चौधौँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो ।

संशोधित कार्यतालिकानुसार गाउँ, नगर, वडा अधिवेशन यही साउन १२ गते, गाउँ, नगर अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको छ ।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ तथा प्रदेश अधिवेशन भदौ १ र २ गतेका लागि निर्धारण गरिएको छ । (रासस)

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार