
साउन १३ काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा चलिरहेकै बेला सत्तारुढ दल नेपाल काँग्रेसका उपसभापति विमलेन्द्र निधि भारत गएका । निधिको निजी सचिवालयले उनी भारतको गएको पुष्टि गरेको छ ।
‘उहाँ पारिवारिक कामले भारत जानु भएको हो । आज बिहान काठमाडौँबाट नयाँ दिल्ली जाने कार्यक्रम तय थियो । तर, विमानमा सिट नपाएका कारण वहाँ काठमाडौँबाट बिराटनगर अनि त्यहाँबाट सिलिगुडी हुँदै कलकता जानुभएको हो । वहाँको ससुराली त्यहीँ हो । वहाँको जेठानले बोलाउनुभएकोले जानुभएको हो । वहाँ भोलिसम्म बसेर पर्सी फर्किने कार्यक्रम रहेको छ,’ निधिका स्वकीय सचिव विश्वास बिक्रमले बताए।
सुरक्षा स्रोतले निधि भारतको राजधानी नयाँ दिल्ली गएको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी बिंल्केन भारत आएको मौकामा निधि दिल्ली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बुधबार मात्र अमेरिकी विदेशमन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार बेलुकी टेलिफोन वार्ता भएको थियो ।
दुई नेताबीच एमसीसीको बारेमा पनि चर्चा भएको बताइएको छ । नेपाली काँग्रेसकै पालामा एमसीसी परियोजनामा सम्झौता भएको थियो । सो सम्झौता पारित हुनुपर्नेमा देउवाले जोड दिँदै आएका छन् ।
यद्यपि, सत्तारुढ गठबन्धनमा यो विषयमा मतभेद रहँदै आएको छ । आजै मात्र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अघि बढाए गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।