राष्ट्रिय जनमोर्चाका एक नेता ठेला चलाएर जीविका चलाउँछन्

शुक्लाफाँटा नगरपालिका– ११ दीपनगरका ५२ वर्षीय जनक कुँवरले परिवारको खर्च चलाउन एक दशकदेखि ठेला रिक्सा चलाउँदै आएका छन्। उनी राष्ट्रिय जनमोर्चाको सुदूरपश्चिम प्रदेश सदस्य र पार्टीको ट्रेड युनियनको प्रदेश संयोजक हुन् । पार्टीको जिल्ला सचिव हुँदै अध्यक्ष सम्मको जिम्मेवारी उनले वहन गरेका छन्।

सामाजिक क्षेत्रमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षदेखि सामुदायिक वनको अध्यक्ष रहेरसमेत उनले कुशलतापूर्वक कार्य सम्पादन गरेका छन् । राजनीति र सामाजिक क्षेत्रमा लामो अनुभव सङ्गालेका उनले परिवारको जीविकोपाजर्नका लागि ठेला रिक्सा चलाउँदै आएका छन् ।

बिहानको झिसमिसेमै घरबाट नास्ता गरेर ठेला रिक्सा लिएर बजार क्षेत्रमा निष्कने उनी साँझ अबेर मात्रै घर फर्किन्छन् । नौ जनाको परिवार उनकै कमाइमा आश्रित रहेको छ । ठेला चलाएर दैनिक रु सात सयदेखि रु एक हजारसम्म कमाइ हुने गरेको छ । त्यही कमाइको पैसाले कुँवर परिवारको चुलोमा आगो बल्ने गरेको छ ।

झलारी, वनसमिति, कलुवापुर बजारमा ठेलामा सिमेन्ट, फर्निचर, फलामे छडलगायतका सामग्री उनले दैनिक रिक्सामा बोक्छन् । कुवँरले पिँठ्युमा सिमेन्टका बोरा बोकेर ठेलामा राख्दै गरेको दृश्य यस क्षेत्रका बासिन्दाका लागि नौलो होइन । ठेला चलाएर आएको रकमबाट उनले एक छोरालाई बिएसी र अर्कोलाई बिबिएससम्म पढाएका छन्।

परिवारको खर्च चलाउनका लागि ठेला चलाएर मात्रै नधानिने भएपछि उनले घरमै कर्जा लिएर बाख्रापालन समेत गरेका छन् ।“शुरुआतमा पाँच बाख्रा पालेको छ”, उनले भने, “यस व्यवसायलाई विस्तारै बढाएर लैजाने योजना छ । बाख्राका लागि घाँसखेती समेत गरेका छौं ।”

व्यावसायिक कार्यमा विपन्न वर्गको पहुँच पुर्याउनका लागि सरकारी पक्षबाट सञ्चालित अनुदानका कार्यक्रम लक्षित वर्गसम्म पुग्नु हुनुपर्ने उनले बताए। “खेत जोत्नका लागि पावर टिलर ५० प्रतिशत अनुदानमा उपलव्ध भए पनि आर्थिक अवस्थाले नधान्दा ल्याउन सकिएन” उनले भने, “म जस्तै अन्य विपन्नका लागि सरकारले अनुदानका योजना ल्याउनुपर्छ  । व्यवसायमा संलग्न भएका र गर्न चाहनेका लागि अनुदान हुनुपर्छ ।”

एक दशकदेखि ठेला चलाउँदै आएका उनी राजनीति गर्ने व्यक्तिले समाजका लागि योगदन दिन सक्नुपर्ने बताउँछन् ।“राजनीतिलाई कमाइ खाने साधन बनाइदा राजनीतिक गर्ने व्यक्ति बद्नाम हुन थालेका छन” उनले भने, “राजनीति गर्नेहरु समाजमा सबै भन्दा धनी भएका छन् ।

त्यतिकै बदनामा पनि छन । खुट्टामा चप्पल समेत नहुनेसँग अहिले चढनका लागि चिल्ला कार छन् । आलिसान घर छन् । नत उनीहरुसँग व्यापार व्यवसाय छ । न पुख्र्यौली सम्पत्तिनै थियो ।” राजनीति गर्नेको सम्पत्ति छानबिन गरी भ्रष्ट्राचारमाथि अङ्कुस नलाउँदासम्म समाज र राष्ट्रले फड्को मार्न नसक्ने उनको भनाइ छ ।

राजनीति गर्नेले कुनै न कुनै अर्थोपार्जका लागि घरमै व्यवसाय सञ्चालन गर्नुपर्छ । त्यसो गरिए भ्रष्ट्राचार न्यूनीकरणमा सघाउ पुग्ने उनले बताउनुभयो । नैतिकता हराउँदै जान थालेकाले राजनीति गर्ने बदनाम भएको चर्चा गर्दै उनले राजनीतिमा प्रवेश गर्ने नयाँ पीढिलाई असल राजनीतिक संस्कार दिनु जरुरी रहेको बताए ।

उनी काम नभएका बेला ठेलामै बसेर अध्ययन समेत गर्नुहुन्छ । राजीतिक दर्शनदेखि समाजका प्रवुद्ध व्यक्तिले लेखेका पुस्तकहरु उनले पढ्ने गर्छन् ।

प्रष्ट वक्ताका रुपमा रहेका कुवँर राजनीति गर्नेका लागि अध्ययन जरुरी रहेको बताउँछन् । राजनीतिमा प्रवेश गरेका युवालाई उनी अध्ययनशील हुनुपर्ने कुरा समेत बताउँछन् । राजनीति कमाउने साधन नभै असल समाज र राष्ट्र निर्माण गर्ने नीति भएको उनको भनाइ छ ।

मजदूरी गरेर जीविकोपाजर्न गर्ने व्यक्तिको एक दशकदेखि ज्याला नबढेकोमा उनी चिन्तित छन् ।“दश वर्ष पहिला जुन ज्यालमा मजदूर काम गर्दथे । हाल पनि त्यही ज्यालामा काम गर्नुपरेको छ” उनले भने, “ठेला मजदूरले सामान ढुवानी गरेबापत  एक सयदेखि रु पाँच सयसम्म कमाउने गरेका छन । जसले उनीहरुमा आश्रित परिवारको खर्च धान्न सकिदैन ।”

ठेला व्यवसायसँगै राजनीतिमा संलग्न उनीसँग घरबासका लागि चार कठ्ठा जग्गा सम्पत्तिका रुपमा रहेको छ । भारतमा मजदूरी गर्न गएका बेला उनले  अखिल भारतीय नेपाली एकता समाजमा आवद्ध भएर राजनीति शुरु गरेका हुन । विसं २०५५ मा स्वदेश फर्केदेखि सक्रिय रुपमा राजनीतिमा संलग्न रहदै आएका छन् ।

#राताेपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार