
भाद्र १३ काठमाडौ । स्याङ्जाका प्रहरी एसपी होबिन्द्र बोगटीले अतिरिक्त आयआर्जन जुटाउनको लागि डीम्याट खाता खोल्न र आइपीओ भर्न मातहतका प्रहरीलाई आग्रह गरेका छन् । अतिरिक्त पैसा कमाउनाले व्यक्तिगत जीवन जिउन सजिलो हुने र खुशिपूर्वक काम गर्न सकिने उनको भनाई छ । जुनियर प्रहरी अधिकृतको तलब थोरै हुने र पैसा कमाउन बढी मिहेनत गर्नुपर्ने तथा आयआर्जनको वैकल्पिक माध्यमबारे सोच्नुपर्ने बाध्यता रहेको बोगटी बताउँछन् ।
यसो गर्नाले तल्लो तहमा भ्रष्टाचारमा कमी आउने बुझाई पनि उनको छ । सामाजिक संजालमा समय खर्चनुभन्दा उत्पादनशिल काममा लागिपर्न समेत उनको सुझाव छ । आइपीओ भर्न ठूलो ज्ञानको समेत आवश्यकता नपर्ने भएकाले त्यसो गर्न उनको सुझाव छ । जागिरबाट अवकास पाएपछि पनि आर्थिकरुपमा सुरक्षित हुने उनको भनाई छ ।
‘हजार रुपैयाँ लगानी गर्दा घाटा हुँदैन’ उनले भने, ‘फेसबुक र टीकटकमा झुन्डिएर बस्नुभन्दा आइपीओ भर्नु राम्रो हुन्छ । मैले यसतर्फ मेरा जवानहरुलाई प्रोत्साहित पनि गरेको छु । कतिपय जवानले सेकेन्डरी मार्केटमा कारोबार पनि गर्न थालेका छन् ।’ स्याङ्जामा ५०० प्रहरी कार्यरत रहेको र तीमध्ये ७५ प्रतिशतले डिम्याट खाता खोलेको जानकारी उनले दिए । अहिले लगभग सबैजसो प्रहरीलाई आइपीओ भर्ने जानकारी सिकाउन अभिमुखीकरण तालिम पनि सिकाइएको छ ।
‘अहिले हाम्रा जवानहरुले परिवारसहित सेकेन्डरी मार्केटमा पनि कारोबार गर्न थालेका छन्’ उनले भने, ‘यसले एकातर्फ आर्थिक सुरक्षा मिल्नेछ भने अर्कोतर्फ सकारात्मक सोचको विकास समेत हुनेछ ।’
#खबर_नेपाल_न्युज