आफ्नो अधिकार सुनिश्चित गर्न युवा तथा विद्यार्थी राजनीतिमा सक्रिय हुनुपर्छ : सांसद पौडेल

जुमानसिंह केसी,
भाद्र १८ सुपादेउराली अनलाइन प्युठान ।   राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले आफ्नो अधिकार रक्षाका लागि विद्यार्थीले राजनीतिमा आउनुपर्ने बताउनु भएको छ । अखिल नेपाल युवक संघ र अखिल (छैठौं) मल्लरानी गाउँसमितिको आयोजनामा प्युठानको खलंगामा शुक्रबार सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा पौडेलले युवा विद्यार्थीलाई राजनीतिमा सक्रिय हुन आग्रह गर्नुभयो ।

देशमा चल्ने ठूला ठूला आन्दोलन र परिवर्तनमा युवा तथा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहँदै आएको पौडेलले बताउनु भयो । भेलामा प्रशिक्षणात्मक मन्तव्य राख्दै पौडेलले युवा विद्यार्थीले आफ्नो हक अधिकार लाई सुनिश्चित गर्नका लागि पनि राजनीति गर्नु पर्ने उल्लेख गर्नु भयो ।

साथै उहाँले राजनीति एक प्रकारको समाजसेवा भएको भन्दै अहिले राजनीतिलाई कमाईखाने धन्दाको रुपमा विकास गरिएको बताउनुभयो । पौडेलले सही राजनीति, विचारलाई साथ दिन पनि युवा विद्यार्थीहरूसँग आग्रह गर्नुभयो ।

राजमो लुम्बिनी प्रदेशका अध्यक्ष वोम बहादुर खत्रीले युवा विद्यार्थी वर्तमानका साझेदार र भविस्यका कर्णधार भएकोले यो देशको कर्मठ र योग्य नागरिक बन्न आग्रह गर्नुभयो । अन्यायको विरुद्धमा अवाज दिनु र न्याय प्राप्त गर्न पनि राजनीति आवस्यक रहेकोले सही राजनीति र सही विचारको बाटोमा गोलबन्द हुन आग्रह गर्नु भयो।

उहाँले अहिले पनि देशको अवस्था अत्यन्तै संकटमा रहेकोले राष्ट्रियता र प्राप्त उपलब्धि जोगाउनका निम्ति खबरदारी गर्न युवा शक्तिलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा अखिल (छैठौं) जिल्ला अध्यक्ष चोप बहादुर विकले अहिलेको शिक्षा व्यवहारिक नभएको र पूँजिपती वर्गको हितमा भएकोले यस्तो शिक्षाको अन्त्य गर्दै वैज्ञानिक तथा व्यवहारिक शिक्षाका लागि सबै विद्यार्थीहरु एक जुट हुन आग्रह गर्नु भयो ।

भेलामा कार्यक्रममा राजमोका जिल्ला अध्यक्ष कृष्ण खड्का, राजमो लुम्बिनी प्रदेश सहसचिव केशव आचार्य, मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज रानामगर, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य हुमलाल नेपाली लगायतले मन्तब्य राख्नु भएको थियो ।
भेलाले गाउँपालिका स्तरीय अखिल नेपाल युवक संघको समिति पुनर्गठन गरेको छ । अशोक रानामगरको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

यस्तै, अखिल (छैठौं) को मल्लरानी गाउँपालिकास्तरीय समिति समेत निर्माण गरिएको छ । सुदन भुसालको अध्यक्षतामा १३ सदस्य समिति गठन गरिएको छ ।

संयुक्त रूपमा आयोजना गरिएको भेलाको अध्यक्षता युवक संघका अध्यक्ष केशव खड्का, स्वागत युवक संघका सचिव वामदेव पौडेल तथा सञ्चालन केशव बुढाथोकीले गर्नु भएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार