
भदौ २१ काठमाडौ । राष्ट्रिय जनमोर्चाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)विरुद्ध भदौ २२ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
आइतबार प्रेस विज्ञप्तिमार्फत् जनमोर्चा एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै भदौ २२ गते देशव्यापी रुपमा विरोध प्रदर्शनमा उत्रिने भनिएको छ ।
एमसीसी कुनै पनि हालतमा सम्झौता कार्यान्वयन गर्न नहुने बताउँदै केही दिनयताका गतिविधि नियाँल्दा एमसीसी पारित गर्न चलखेल सुरु भएको भन्दै त्यसप्रति कडा विरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी वा यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु सरकारले यो अवधिमा नउठाउने एक प्रकारको भद्र सहमति हो । तर केही दिनयता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरुबीच एमसीसीबारे छलफल भएको, एमसीसीको विज्ञापन प्रसारण भएको, एमसीए अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसीसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसीसीलाई पारित गर्न चलखेल भएको सहज रुपमा अनुमान गर्न सकिन्छ ।’
भदौ २२ गते मंगलबार एमसीसीको विरोधमा ७७ वटै जिल्लामा विरोधप्रदर्शन गर्नेलगायत कार्यक्रमहरु तय भएको जनाइएको छ ।