ट्रक समितिद्वारा कोरोना अस्पतालका लागि आर्थिक सहयोग
सुपादेउराली अनलाइन
प्रकाशित मिति : शुक्रबार, बैशाख २६, २०७७
श्यामलाल पोखरेल बुटवल, बैशाख २६ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिले कोरोना नियन्त्रण तथा रोकथामका लागि ३ लाख २ हजार आर्थिक सहयोग गरेको छ । समितिले रुपन्देहीको बुटवलस्थित धागो कारखानमा सञ्चालित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालका लागि २ लाख ५१ हजार र बुटवल वडा नम्बर ११ लाइ ५१ हजार आर्थिक सहयोग गरेको हो । अस्थायी कोरोना विशेष अस्पतालको स्तरवृद्विका लागि र वडा नम्बर ११ मा राहत वितरणका लागि सहयोग गर्नेगरी आर्थिक सहयोग गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले जानकारी गराउनुभयो । समितिको कार्यालयमा एक कार्यक्रमबीच अस्पतालका अध्यक्ष शूर्यबहादुर भट्टराइलाई समितिको तर्फबाट अध्यक्ष पाण्डेले चेक प्रदान गर्नुभएको थियो । । त्यसै गरी वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलाई पनि सोही कार्यक्रममा समितिको तर्फबाट चेक प्रदान गरिएको हो । समितिका अध्यक्ष यमप्रसाद पाण्डेले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोरा महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको समितिका अध्यक्ष पाण्डेले बताउनुभयो । उहांले सामाजिक कार्यप्रति समिति सधै सकरात्मक रहेको र व्यवसायीका समस्याप्रति गम्भीर हुन तिनै तहका सरकारलाई आग्रह गर्नुभयो । अस्पतालका अध्यक्ष शूर्यप्रसाद भट्टराइले समितिले दिएको सहयोग उचित ठाउंमा खर्च गरिने र कोरोना भाइरसको संक्रमणसंग लड्नका लागि सबैको आर्थिक, भौतिक तथा नैतिक सहयोग आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रममा समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल, समितिका वरिष्ठ उपाध्यक्ष प्रतावबहादुर कार्की, महासचिव जीतबहादुर भाट, सचिव बसन्त खड्का, कोषाध्यक्ष हरि रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी, कार्यालय सहायक प्रकाश गैरे, वरिष्ठ लेखापाल ऋषिराम भट्टराई, समितिका खगराज गौतम, लक्ष्मण गैर, गोपाल लम्साल लगायतको सहभागितामा आर्थिक सहयोग गरिएको थियो । बुटवलको कालिकानगरमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा करिव २४ सय व्यवसायी आवद्व छन् । समितिका आवद्व ट्रक व्यवसायीले कोरोना भाइरसका कारण भएको लकडाउन अबधीको बैंकको व्याज मिनहा र किस्ताको भाका सार्न सरकारसंग माग गरेका छन् । लामो समयको लकडाउनको बेला ट्रक सञ्चालन नहुंदा आम्दानी ठप्प भएकाले बैंकको ब्याज चलाउन समस्या भएकाले व्यवसायी आर्थिक रुपले धरासायी भएको समितिका पूर्व अध्यक्ष लोकराज पोखरेलले बताउनु भयो । ट्रक नचल्दा समितिको संस्थागत मासिक आम्दानी शुन्य जस्तै भएकाले आर्थिक रुपले संस्था चलाउन पनि समस्या उत्पन्न हुने अवस्था सिर्जना भएको समितिका महासचिव जीतबहादुर भाट क्षेत्रीले बताउनु भयो ।