सरुमारानीको मेरो एक बर्षको सेवा प्रवाहलाई फर्केर हेर्दा

चिन्तामणि रेग्मी

प्रमुख प्रसासकिय अधिकृत

सरुमारानी गाउँपालिका प्यूठान

प्युठान जिल्लाको सरुमारानी गाउँपालीकाको प्रमुख प्रसासकिय अधिकृतको रुपमा काम गरेको आज एक वर्ष पुरा भएको छ । समग्र अवस्था र बिकास निर्मार्णको बिषयमा केन्द्रित भएर यस पालिकाका प्रमुख प्रसासकिय अधिकृत चिन्तामणि रेग्मी, सगँ कुराकानि गरेका छौँ । दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं.  ६ मा वुवा रेशम राज रेग्मी, आमाः सुन्दरी रेग्मीको कोखबाट २०४९।११।२५ गते जन्मनु भएका रेग्मिले एस.एल.सी. महेन्द्र मा.वि. तुलसीपुर बाट, प्लसटु तथा वि.वि.एस. राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरबाट, राजनीतिशास्त्रमा स्नातकोत्तर स्वअध्ययन, महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जमा एल.एल.बि. अध्ययनरत गर्नुभएको छ । सानै उमेरमा ठुलो जिम्मेवारी बहन गर्नुभएका रेग्मि सरल, सक्षम, मेहनेती हुनुहुन्छ । उहाँसग केन्द्रित भएर अर्घाखाँची बाट जितेन्द्र खत्रीले गरेको कुराकानिको बाकीँ अंश

तपाई यस पालिकामा आउनु भएको पनि आज एक बर्ष भयो कस्तो महसुस गर्नुभएको छ ?

म २०७७ मंसिर २९ गतेदेखि सरुमारानी गाउँपालिकामा कार्यरत छु । आज १ वर्ष पुरा भएछ । समय कति छिट्टै बितेछ जस्तो लागिराखेको छ । म हालसम्म रमाएरै काम गरिराखेको छु ।

तपाईले यस एक वर्षको अवधिमा सरुमारानी गाउँपालिकामा गरेका मुख्यमुख्य काम सुधारहरु के के हुन बताइदिनुहोस न?

सरुमारानी गाउँपालिकामा मेरो १ वर्षे कार्यकालमा भएका प्रमुख कामहरु

२०७७।७८ को वेरुजु शुन्य 

महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनको आधारमा आ व २०७७।७८ बेरुजु रु १६०६०६८५ औल्याईएकोमा सरुमारानी गाउँपालिकाको कार्यालयबाट प्रारम्भिक प्रतिवेदनमाथि पेश गरिएको प्रतिक्रिया र प्रमाणहरुको आधारमा सम्पुर्ण वेरुजु सम्परीक्षण भई आ व २०७७।७८ को बेरुजु ऐतिहासिक रुपमा शुन्य बनाइएको । साथै आ व २०७७।७८ भन्दा अगाडीको ७ करोड ४ लाख ४९ हजार २ सय ९८ बेरुजु सम्परीक्षण गराउन सफल भएको ।

गाउँपालिकाको सगठन तथा व्यवस्थापन सर्भेक्षण सम्पन्न

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा भएको प्रावधान अनुरुप स्थानीय तहहरुले कर्मचारी समायोजन भैसकेपश्चात आफ्नो कार्यबोझ, राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवस्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी स्थायी प्रकृतीको कामका लागि आवस्यक पर्ने तथा सेवा करारमा लिइने कर्मचारीको दरवन्दी समावेश हुनेगरी सगठन तथा व्यवस्थापन सर्भेक्षण (इ ७ ः)  गर्नुपर्ने व्यवस्था रहे बमोजिम यस सरुमारानी गाउँपालिकाको सगठन तथा व्यवस्थापन सर्भेक्षण (इ ७ ः) गर्ने काम सम्पन्न गरिएको छ ।

नयाँ प्रशासकीय भवनबाट सेवा शुभारम्भ

सरुमारानी गाउँपालिकाको नयाँ प्रशासकीय भवनको दोस्रो तलाको निर्माण सम्पन्न भएसगै गएको जेठ महिनादेखि गाउँपालिकाले बड्डाडामा रहेको आफ्नै कार्यालयबाट सेवा सुचारु गरेको छ भने वडा न ५ र ६ बाट समेत यसै महिनादेखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न शुरु गरिएको छ।

हेल्प डेस्क स्थापना

सेवाग्राहीलाई कार्यालयमा काम गर्न आउदा अल्मलिनु नपरोस भन्ने उदेश्यले नँया भवनबाट सेवा सुचारु गरे लगत्तै नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरी सञ्चालनमा ल्याइएको छ । उक्त नागरिक सहायता कक्षबाट सेवाग्राहीहरुलाई निशुल्क फोटोकपि गर्ने व्यवस्थाका साथै आवस्यक सम्पुर्ण सहयोग प्राप्त हुनेछ ।

आन्तरिक आयमा उल्लेख्य वृद्धि

नदिजन्य पदार्थ विक्रि वितरणमा कार्यालयबाटै कर्मचारी खटाइ हालसम्मकै धेरै राजस्व सकलन गर्न सफल । साथै करका दायराहरु विस्तार गर्दै विज्ञापन कर लगाएतका करहरुको माध्यमबाट आन्तरिक आम्दानीको लक्ष्यभन्दा बढी राजस्व सकलन गर्न सफल । अघिल्लो आर्थिक वर्षको तुलनामा २१८ प्रतिशत तथा आ व २०७७।७८ को लक्ष्यको १०९ प्रतिशत राजस्व सकलन भएको ।

ठुला योजनाहरु बोलपत्र मार्फत कार्यान्वयन

सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ ले प्राविधिक जटिलता हुने निर्माण कार्य बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराई कार्यान्वयनमा लैजालुपर्ने उल्लेख गरेको छ । विगतका वर्षहरुमा उपभोक्ता समितिमार्फत प्राविधिक रुपमा जटिल खालका ठुला योजनाहरु कार्यान्वनय हुने गरेकोमा आ व २०७८।७९ देखि कार्यान्वयन हुने ठुला योजनाहरु ठेक्का प्रक्रियाद्वारा प्रतिस्पर्धाको आधारमा कार्यान्वयन प्रक्रियामा लैजान सफल ।

घर नक्शा अभिलेखिकरणको काम शुरु

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा नक्शा पास नगराइ भवन निर्माण गर्न नहुने व्यवस्था गरिएको छ भने नक्शा पास र अभिलेखिकरण सम्बन्धी सम्पुर्ण अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ । हाम्रो गाउँपालिकामा पनि सोही अधिकार बमोजिम आ व २०७७।७८ देखि घर नक्शा अभिलेखिकरणको काम शुरु भएकोमा भर्खरै घर नक्शा पास र अभिलेखिकरण सम्बन्धी तालिम सम्पन्न भएको छ र अवको केही समयभित्रै घर नक्शा पासको कार्य शुरु गर्ने तयारी रहेको छ ।

पालिका स्तरीय १० बेडको अस्पतालको डिपिआर तयार

स्वास्थ तथा जनसख्या मन्त्रालयको प्रत्येक पालिकाहरुमा ५।१०।१५ शैयाको अस्पताल निर्माण गर्ने अभियान अन्तर्गत यस सरुमारानी गाउँपालिकाको लागि १० शैयाको अस्पताल निर्माणको लागि छनोट भएकोमा सोको पहिलो चरणको काम अर्थात डिपिआर गर्ने काम सम्पन्न भएको छ ।

कृषि तथा पशु उद्यमशिलता विकास कार्यक्रमको शुरुवात

सरुमारानी गाउँपालिकामा कृषि र पशुपालन निकै सम्भावना बोकेका क्षेत्र हुन । यस क्षेत्रमा रहेका धेरैभन्दा धेरै किसानलाई समेटी समुहमार्फत परिचालन गरी हरेक किसानलाई उद्यमशील बनाई व्यावसायिक उत्पादनलाई प्रोत्साहन गर्ने हेतुले हेफर प्रोजेक्ट नेपालसगको साझेदारीमा ३ वर्षसम्म सञ्चालन हुनेगरी रु ४ करोड २० लाख कुल लागतमा कृषि तथा पशु उद्यमशिलता विकास कार्यक्रम सञ्चालन ल्याइएको ।

महिनाको उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था

आन्तरिक रुपमा कर्मचारीहरुबिच सकारात्मक प्रतिस्पर्धाको विकास गरी कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्न गाउँपालिका भित्रबाट महिनाको उत्कृष्ट कर्मचारी छनोट गरी पुरस्कृत गर्ने कार्यको थालनी ।

स्वास्थको रिक्त दरबन्दीमा पदपुर्ती

यस गाउँपालिका क्षेत्र भित्रका स्वास्थ चौकीहरुमा रिक्त रहेका दरवन्दीमा हेल्थ असिस्टेन्ट ३ जना अहेव १ जना र अनमी ३ जनाको पदपुर्ती गरि दरबन्दी अनुरुपको कर्मचारी व्यवस्थापन गरिएको ।

            नियमित विद्यालय सुपरिवेक्षण

नियमित रुपमा विद्यालयको सुपरिवेक्षण गर्नुका साथै जुमबाट प्र अ बैठक गर्ने कार्यको शुरुवात । साथै स्थानिय पाठयक्रम निर्माण गर्ने कार्यको थालनी ।

मसिरभित्रै सम्पुर्ण योजनाको सम्झौता सम्पन्न

कार्यान्वयन हुन नसक्ने वाहेकका उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरुको मसिर महिनाभित्रै उपभोक्ता समितिहरुसग योजना सम्झौता गर्ने कार्य सम्पन्न ।

वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई गर्ने कार्य सम्पन्न

आ व २०७७।७८ को वार्षिक समिक्षा तथा आ व २०७८।७९ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गर्ने काम सम्पन्न भएको छ ।

यँहा सरुमारानी गाउँपालिकामा आएपश्चात उपभोक्ता समितिको गुनासो कम आएको भन्ने सुन्नमा आएको त्यसो हुनुको खास कारण के होला ?

उपभोक्ता समितिहरुको गुनासो कम आउनुका पछाडी एउटामात्र नभएर विविध कारणहरु छन । पहिलो कुरा त हामीले बजेट विनियोजन गर्दा योजनामा काटनुपर्ने कन्टिन्जेन्सी वापतको रकम हिसाब गरेर छुट्टै शिर्षकमा छुट्याएर राख्यौ, जसले गर्दा सम्बन्धित योजनाको रकम काटिएर उपभोक्ताले पाउने रकम घट्ने भएन । दोस्रो उपभोक्तालाई जनश्रमदान जुटाउन कठिन हुने कुरालाई मनन गरी म गाउँपालिकामा आएलगत्तैको कार्यपालिका बैठकबाट उपभोक्ताले व्यहोर्नुपर्ने जनश्रमदानको हिस्सा कुल लागतको २० प्रतिशतबाट घटाएर १० प्रतिशत बनायौ । तेस्रो उपभोक्ता समितिसग सम्झौता गर्नु अगाडी उपभोक्ता समितिका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी योजना कार्यान्वयन प्रक्रिया तथा करहरु सम्बन्धमा प्रष्ट पार्यो । र चौथो उपभोक्ता समितिको चेतनस्तर पनि क्रमश बढ्दै गयो । यी चार कारणले गर्दा उपभोक्ता समितिको पालिकाप्रतिको गुनासो घट्दै गएको हो

सरुमारानी गाउँपालिकामा  यस वर्षका प्रमुख योजना कार्यक्रमहरु के के  हुन बताइदिनुहोस  न?

बड्डाडा बजार क्षेत्र कालोपत्रे, वडा न २ र ४ को वडा कार्यालय भवन निर्माण, जेष्ठ नागरिक आँखा स्वास्थ शिविर, पालिका अनुदान शिक्षकको निरन्तरता, जनता मा वि यातायात अनुदान, प्राविधिक विषयमा डिप्लोमा अध्ययन छात्रवृत्ति, पशु स्वास्थ घुम्ति शिविर, कृषि तथा पशु उद्यमशिलता विकास कार्यक्रम, कोभिडबाट मृतक परिवारलाई राहत सहयोग, विभेद तथा बञ्चितिकरणमा परेका समुदाय उत्थान कार्यक्रम आदि

प्युठान जिल्लामा काम गराईको हिसावले एक वर्षमै पालिकालाई उत्कृष्ट बनाउनु भएको जताततै चर्चा चलेको ? यो कसरी बनाउनु भयो?

पालिका उत्कृष्ट नै भयो भन्दा पनि सुधारउन्मुख भएको र अझै धेरै काम गर्न बाकि रहेको मेरो बुझाई हो । पालिकालाई यहाँसम्म ल्याइपुर्याउनुमा जनप्रतिनिधिको काम प्रतिको खटनपटन, कर्मचारी व्यवस्थित परिचालन आम नागरिकको साथ सहयोग र निती विधिको पालना प्रमुख कारण हुन जस्तो लाग्छ ।

देशभरका पालिकाहरु सगै यस पालिकामा पनि धेरै ठुलो बेरुजु आएको थियो तपाई यस पालिाकामा प्रवेश गरेको एक वर्षमा बेरुजु शुन्यता तर्फ अगाडी आउन कसरी सफल भयो ?

निकै महत्वपुर्ण प्रश्न गर्नुभयो । अघिल्लो वर्ष हाम्रो बेरुजुको भोलम धेरै देखिएतापनि त्यसमा अधिकांश हिस्सा विद्यालयलाई भौतिक पुर्वाधार निर्माणको लागि दिएएको पेश्कीको रहेको थियो । मिडियामा त्यसलाई अलि फरक ढंगले अगाडी ल्याइयो । हामी त्यही समयदेखि नै बेरुजु घटाउने अभियानमा अग्रसर भयौ । आन्तरिक लेखापरीक्षण शाखाको सक्रियता, शाखा तथा वडाका सम्पुर्ण कमचारीहरुको क्रियाशिलता र जनप्रतिनिधि ज्यूहरुको साथ सहयोगले यो काम सम्भव भएको हो ।

शुन्य बेरुजु ल्याउनमा जनप्रतिनिधि कर्मचारीबाट सोचेजस्तो सहयोग पाउनु भयो अनी अरु पालिकाहरुले आफ्नो पालिकामा कसरी सुधार ल्याउनु पर्ला ?

अवश्य पनि जनप्रतिनिधि र कर्मचारीहरुको पुर्ण सहयोगबाट नै आ.व. २०७७।७८ को बेरुजु शुन्य बनाउन सकिएको हो । बेरुजु घटाउने मुल मन्त्र भनेको कानुनी प्रक्रियाको पालना नै हो । यसका लागि सबै पक्षको साथ सहयोगको आवस्यकता पर्दछ । साथै आलेप र मलेपले औल्याएका बेरुजुहरु समयमै सम्परिक्षण गर्ने कुरामा पनि अग्रसरता देखाउन सकेमा बेरुजुलाई कम गर्न सकिन्छ ।

यो अबस्थामा पालिकालाई ल्याउनमा के कस्ता नितिगत समस्या के कति आई परे? कार्य सम्पादन गर्दा कस्ता कठिनाई समस्या आई परे?

म यस गाउँपालिकामा आउदा अप्राविधिक तर्फका करार कर्मचारी सम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा थियो । करिवकरिव अघिल्लो आर्थिक वर्षभरी यहि कुरामा रुमलिनु पर्यो । विगतका वर्षहरुमा जिविस गाविस अन्तर्गत काम गरि मन्त्रालयको पत्रअनुसार स्थानीय तहमा खटाइएका १७।१८ वर्षदेखि नियमित काम गरिराखेका कर्मचारीलाई बर्खास्त गर्नु सजिलो काम थिएन । त्यस्तै ढुंगा गिट्टि बालुवा निकासीको लागि वोलपत्र आह्वान गर्दापनि प्रस्ताव पेश नहुँदा एकातिर ठुलो मात्रामा आन्तरिक आम्दानी उठन सकिराखेको छैन भने अर्कोतर्फ अघिल्लो आर्थिक वर्षमा हामीले कार्यालयमा कार्यरत ५ जना कर्मचारी परिचालन गरेर नदिजन्य पदार्थको विक्रिवितरण गर्नुपरेको थियो । जसले गर्दा कार्यालयको सेवा प्रवाहमा समेत प्रत्यक्ष प्रभाव पर्न गयो । यी समस्याहरु मैले अघिल्लो आर्थिक वर्षमा भोग्नुपरेका मुख्य समस्याहरु हुन । त्यो वाहेक अन्य खासै समस्याहरु मैले महसुस गरेको छैन ।

स्थानिय पाठ्यक्रम तथा स्वास्थ्य, शिक्षा,उद्योग, कृषि, प्रबिधि पशुपालनलाई प्रोत्साहन गर्न के कस्तो नीति बनाउदै हुनुहुन्छ ?

हामीले गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा आधारभुत तहसम्मको लागि स्थानीय पाठयक्रम निर्माणको काम अगाडी बढाएका छौ । शिक्षा समितिको बैठकबाट स्थानीय विज्ञ शिक्षकहरुको सहभागीतामा ९ सदस्यीय पाठयक्रम निर्माण कार्यदल गठन गरी द्रुत गतिमा कार्य भैराखेको छ । आगामी शैक्षिक सत्रदेखि हाम्रो पालिकामा स्थानीय पाठ्यक्रम लागु हुनेछ । स्वास्थतर्फ घरमा सुत्केरी हुने दरलाई शुन्यमा झार्ने, कृषि तथा पशुपालनमा किसानहरुलाई उद्यमशिल र आत्मनिर्भर बनाउने साथै गाउँपालिकालाई प्रविधिमैत्री बनाउने नीति गाउँपालिकाले लिएको छ ।

अन्य स्थानिय तहहरुले आफ्नो निति नियमहरु बनाएको सन्दर्भमा यहाहरुको पालिकाको अवस्था कस्तो ?

हाम्रो गाउँपालिकाले हालसम्म ऐनहरु २२ ओटा तथा नियम, निर्देशिका, कार्यविधि र मापदण्ड गरेर ५२ ओटा तर्जुमा गरि कार्यान्वयनमा ल्याएको छ ।

फर्केर हेर्दा यो एक वर्षको उपलब्धि लाई कसरी मुल्याङ्कन गर्नु हुन्छ ? यो काम गर्नु थियो तर सकिएन भन्ने केही की ?

औषतमा सोचे अनुरुप नै भएको छ । केहि कामहरु अधुरा रहेका छन । जस्तै हाम्रो गाउँपालिकाको महत्वपुर्ण योजना हंशपुर बृहद खानेपानी योजना अघिल्लो आ.व. मा पुरा हुनुपर्नेमा कोभिड महामारीको प्रभाव र निर्माण सामाग्रीको अत्यधिक मुल्य वृद्धिका कारण सम्पन्न हुन सकेन । संघीय सरकारबाट बजेट निकासा हुन नसक्दा शहरी विकास मन्त्रालय अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रमको भुक्तानी समयमै दिन सकिएन । बाकी कामहरु सोचे अनुरुप नै अघि बढेको जस्तो लाग्छ ।

तपाईलाई बाहिर स्थानियहरुले बढी सक्रीयताका साथ काम गरिरहनु भएको भन्ने सुनिन्छ तपाई यस पालिकामा कार्यलय प्रमुखकै रुपमा सेवा दिदै गर्दा यो पालिकामा जनताले के के विकास भएको देख्न सक्छन् बताईदिनुहोस ?

यस वर्षको वजेट कार्यान्वयन पश्चात हाम्रो ड्रिम प्रोजेक्ट अर्थात हंशपुर वृहत खानेपानी योजना सम्पन्न भई ५०० बढी घरधुरीको खानेपानीको समस्या समाधान हुनेछ, बड्डाडा बजार क्षेत्र कालोपत्रे हुनेछ, सम्पुर्ण वडा कार्याहरुले आफ्नै भवनबाट सेवा प्रवाह गर्न पाउनेछन, स्थानीय पाठ्यक्रम लागु हुनेछ, गाउँपालिकाले हालसम्म गरेका कामकारवाहीलाई समेटेर पालिकाले समिक्षा पुस्तक प्रकाशन गर्नेछ । साथै गाउँपालिकाको वार्षिक लक्ष्य हासिल हुनेछ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्यमा मेरो १ वर्षको कार्यअनुभवलाइ तपाईको मिडिया मार्फत आम पाठक वर्ग माझ सार्वजनिक गर्ने अवसर दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार