
काठमाडौं । राष्ट्रिय जनमोर्चाकि उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन अन्त्यका लागि विभिन्न राजनीतिक दलबीचको एकता आवश्यक रहेको बताएकी छन्।
आइतबारबाट राजधानीमा सुरू भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिगमन शक्ति पनि सक्रिय रहेको र यसको अन्त्यका लागि सबै दलबीचको एकता आवश्यक रहेको स्पष्ट पारिन्।
उनले अहिले पनि प्रतिगमन शक्ति सक्रिय रहेको भन्दै हामीहरूबीच मतभेद रहेको भए पनि प्रतिगमन अन्त्यका लागि दलहरूबीचको एकता आवश्यक रहेको औल्याइन्।
उनले राष्ट्रियताका लागि सबै दलहरू एकजुट हुनुपर्ने दोहोर्याइन्। राष्ट्रियताको रक्षा र एमसीसीलगायतका विषयमा माओवादीले उचित निर्णय लिनुपर्ने भन्दै उनले मुलुकको हितका लागि सबै दल एक हुनुपर्ने बताइन्।
उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसहितका राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन्।