विश्व ट्रेड युनियन महासंघ एमसीसि को विरुद्ध

काठमाडौँ । विश्व ट्रेड युनियन महासङ्घको नेपाल समन्वय समिति एम.सी.सी. को विरोधमा उभिएको छ । नेपाल समन्वय समितिको २०७८ फागुन ८ गते काठमाडौँमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

बैठकको बारेमा महासङ्घका संयोजक प्रेमलकुमार खनाल, सहसंयोजक मोहनमान स्वाँर र महासचिव लोकराज भुसालले संयुक्त रूपमा प्रेस नोट जारी गर्दै जानकारी दिनुभएको छ ।

बैठकले श्रमिक मजदुर वर्गले भोग्नुपरेका समस्या, कोरोना सङ्क्रमणका कारण विश्वस्तरमा उत्पादन र रोजगारीको क्षेत्रमा नकारात्मक प्रभावबारे समीक्षा गरेको प्राप्त समाचारमा उल्लेख छ ।

महासङ्घको अठारौँ विश्व सम्मेलन इटलीको रोममा आगामी मे महिनाको ५–७ गते हुन गइरहेकोमा त्यसको सफलताका लागि नेपालबाट प्रतिनिधित्व र आर्थिक व्यवस्थापनबारे निर्णय गरेको बताइएको छ ।

त्यस्तै, बैठकले अठारौँ विश्व सम्मेलनको पूर्वसन्ध्यामा नेपाल समन्वय समितिको दोस्रो सम्मेलन काठमाडौँमा ८ मार्च २०२२ मा गर्ने र उक्त सम्मेलनबाट महिला तथा युवा श्रमिकको विभाग घोषणा गर्ने भएको छ ।

एवम् प्रकारले बैठकले भारतले कालापानी लिपुलेक लिम्पियाधुरालगायतका नेपाली भूभागमाथिको अतिक्रमण तथा एम.सी.सी. संसद्मा टेबुल गरेकोमा विरोध गरेको छ । महासङ्घले एम.सी.सी. संसद्बाट फिर्ता लिन माग गरेको छ । त्यस्तै, एम.सी.सी. विरोधी आन्दोलनमा प्रहरी दमनबाट घाइते हुनुभएका न्यायप्रेमी नागरिकको यथाशीघ्र स्वास्थोपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार