अँग्रेजी केन्द्रीय विभाग, त्रिवि कीर्तिपुरमा आज यस विभागका पूर्व प्राध्यापक स्वर्गीय मुरारी मधु सुदन ठाकुरको सम्मानमा एक श्रदाञ्जली सभा बिभागीय प्रमुख प्रा. डा. जीवलाल सापकोटाको अध्यक्षतामा तथा बरिष्ट भाषाविद प्रा. डा. योगेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । इसवीय सन १९३२ अक्टोवर १७ मा जन्मनु भएका प्रा. ठाकुर ९० बर्षको उमेरमा यही मिति २०२२ फेब्रुवरी २२ तारिखमा ब्रह्मलिन हुनुभएको थियो । स्वर्गीय प्रा. ठाकुरको फोटोमा माला अविर लगाई उहाँको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
अँग्रेजी, मैथिली एवम् हिन्दी भाषाका प्रकाण्ड विद्वान एवम् लेखक प्रा. डा. मधुसुदन ठाकुरले अँग्रेजी केन्द्रीय विभाग मा बिक्रम सम्वत २०३८ साल देखि २०४९ साल सम्म प्राध्यापन गर्नुभएको थियो ।
उहाँसँगै प्राध्यापन गर्नुभएका प्रा. डा. योगेन्द्र प्रसाद यादवले प्रा. ठाकुरको जीवनी, व्यक्तित्व, कृतित्व र सहकार्य गर्दाका बिभिन्न प्राज्ञिक कार्यहरूको बारेमा चर्चा गर्नुभएको थियो ।
विभागीय प्रमुख प्रा. डा. जीवलाल सापकोटाले प्रा. ठाकुरले आफूहरूलाई स्नातकोत्तर तह प्रथम बर्षमा अठारौं र उन्निसौं शताब्दिका अँग्रेजी पद्य पढाएको र उहाँ आफ्नो बिषयमा प्रकाण्ड विद्वान भएको, बिद्यार्थी केन्द्रित प्राध्यापन बिधि प्रयोग गर्ने एक सरल तथा प्राज्ञिक स्वतन्त्रताका पक्षपाति प्राध्यापक हुनुहुन्थ्यो भन्ने धारणा राख्नुभयो ।
बिभागका प्राध्यापक एवम् कर्मचारी वर्गको समुपस्थितिमा सञ्चालित सो कार्यक्रममा सह प्रा. डा. शरद चन्द्र ठाकुर, उप प्रा. दिवाकर उपाध्यायले प्रा. ठाकुरसँगका आफ्ना अनुभुतिहरू व्यक्त गर्नुभएको थियो । यस श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन उप प्रा.डा. राज किशोर सिंहले सञ्चालन गर्नुभएको थियो ।