
सत्ताधारी र प्रमुख विपक्षी पार्टीका विद्यार्थी संगठनहरुले राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डताजस्ता गम्भीर विषयहरुमा तुच्छ र गएगुज्रेको राजनीतिक तुष्टि पोखिरहेका छन् र एक प्रकारको मजाक प्रदर्शन गरिरहेका छन् । कैयौं पहल गर्दासमेत नेविसंघ र अनेरास्ववियुलाई संयुक्त विज्ञप्तिमा हस्ताक्षर गराउन सकिएन । जब कि विषय राष्ट्रको थियो, कुनै एउटा दलको वा गुटको थिएन । संगठनका तुष्टि पोख्नुपर्ने कुनै आवश्यकता थिएन । भारतीय साम्राज्यवादले हामी सबैको छातीमा घन प्रहार गरेको थियो । त्यसको प्रतिरोध संयुक्त रुपमै गर्नुपर्ने थियो ।
आज दुई टोली बनाएर परराष्ट्रमन्त्रीलाई भेट गर्न गएको देखियो । जब कि यो कुराको सुरुआती प्रस्ताव नेविसंघ र अनेरास्ववियुका अध्यक्ष र अन्य १० संगठनका अध्यक्षहरुसँग मैले नै गरेको थिएँ । तयार भएको वक्तव्य पनि लत्याइयो । वक्तव्यमा समेत एकताको सन्देश दिन नसक्ने साथीहरुले राष्ट्रिय एकता कायम गर्नेछन् भनेर सोच्नु मुर्खता हुनेछ । टुक्रे समूह बनाएर, एकले अर्कालाई दोष थोपरेर देशको भूमि फिर्ता ल्याउन सकिंदैन ।
हाम्रो पहल संयुक्त आन्दोलनको लागि थियो । राष्ट्रिय विषयहरुमा एकल आन्दोलन भन्दा संयुक्त आन्दोलनको बल ठूलो हुन्छ । तर त्यो सम्भावना क्षीण बन्दै गएको छ । हामी लकडाउनको समयमा आफ्नो ठाउँबाट विरोधमा छौं । यद्यपि आन्दोलनलाई संयुक्त स्वरुप दिनको लागि हाम्रो निरन्तर पहल हुनेछ । तर सत्ताधारी दललाई सरकारले गरेका गलत क्रियाकलापको रक्षाकबचको प्रयोगमा र प्रतीपक्षी दलको विद्यार्थी संगठनलाई सत्ता नहुँदाको छटपटीमा अखिल (छैठौं)ले साथ दिन सक्दैन ।
कांग्रेसको विज्ञप्तिमा हस्तक्षेपको ह पनि उच्चारण नगर्ने तर विद्यार्थी संगठनको विज्ञप्तिमा एउटा शब्दमा माखेसांलो अड्काएर हस्ताक्षर गर्न नमान्ने प्रवृत्ति चाहिं साथीहरुले नदेखाएकै राम्रो हुनेछ ।
अहिलेको प्रसंगमा संयुक्त विद्यार्थी आन्दोलनमा भाँजो हाल्ने काम नेपाल विद्यार्थी संघले गरेको हो । अनेरास्ववियुका अध्यक्ष र अन्य सबै संगठनका साथीहरुले सरकारका गलत क्रियाकलापको विरोधका शब्दहरुलाई स्वीकार गरेका थिए । जुन विगतका नेपाली कांग्रेसको सरकारलाई प्रयोग गरिएका शब्द भन्दा कडा पनि थिए ।
अन्त्यमा भारतले नेपाली भूमि मिचेर बनाएको सडक निन्दनीय हस्तक्षेप हो र हामी विगतदेखि निरन्तर विरोधमा छौं । सत्तापक्ष र प्रतीपक्षको तुष्टि पोख्ने विषयभन्दा माथि उठेर संयुक्त हुन सबै विद्यार्थी संगठनलाई अनुरोध गर्न चाहन्छु ।
बिमल पोख्रेल
अध्यक्ष अखिल (छैठौं)