
फागुन १५ अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संकल्प प्रस्ताव ल्याउँदैमा एमसीसी राष्ट्रवादी बन्न नसक्ने जिकिर गर्नुभएको छ । गठबन्धन ढल्छ भनेर व्याख्यात्मक रुपमा एमसीसीको पक्षमा उभिनेहरुनै सबैभन्दा राष्ट्रघाती भएको उहाँको आरोप छ ।
एमसीसी खारेजीको माग गर्दै आन्दोलनरत संयुक्त मोर्चाले आज सन्धिखर्कमा आयोजना गरेको बिरोधसभालाई सम्बोधन गर्दै महासचिव भट्टले यस्तो बताउनुभएको हो । अन्य विदेशी सहयोग आउँदा संसदमा अनुमोदन गर्नु नपर्ने ? एमसीसीलाई अनुमोदन गर्नुपर्नेका पछाडिको रहस्य के हो ? भन्दै उहाँले एमसीसीका पक्षधर कांग्रेस,एमाले,माओवादी र एकिकृत समाजवादीलाई प्रश्न गर्नुभएको छ ।
अमेरिकामा अहिलेपनि ४ करोड नागरिक गरिबिको रेखामुनी रहेको भन्दै महासचिव भट्टले नेपालको चिन्ता नगर्न अमेरिकालाई आग्रह गर्नुभएको छ । अमेरिकाले सम्झौताका कुनैपनि बुँदा परिवर्तन नगर्ने भनिसकेकोले जस्तोसुकै ब्याख्या गरेपनि एमसीसी नेपाल र नेपालीको हितमा हुन नसक्ने उहाँको दाबी छ । संसदमा राष्ट्रभक्तहरुको मोर्चा कमजोर भएपनि सडकमा बलियो भएको दाबी गर्दै महासचिव भट्टले संसदबाट अनुमोदन भएपनि जनताले एमसीसी पास गर्न नदिने उद्घोष गर्नुभएको छ ।
कार्यक्रममा नेत्र विप्लव चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य भेषराज भुसालले जब कांग्रेस सरकारमा जान्छ तब केही न केही राष्ट्रघात गरेर फर्किन्छ भन्दै आरोप लगाउनुभएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्न कम्युनिष्ट अबरणका लालगद्धारहरु कांग्रेसको पछि लाग्नु ठुलो बिडम्बना भएको बताउनुभएको छ । संसदवादी एमाले,माओवादी र एकिकृत समाजवादीलाई कम्युनिष्ट झन्डा बोक्ने अधिकार नभएको भन्दै उहाँले झन्डा र नारा त्याग्न चुनौति दिनुभएको छ ।
नेकपा स्कुल बिभाग प्रमुख समेत रहनुभएका नेता भुसालले एमसीसीको बहानामा नेपाल छिरेर चिनबिरुद्ध हमला गर्ने र नेपाललाई रणभुमि बनाउने चलखेलमा अमेरिका लागेको आशंका व्यक्त गर्दै नेता भुसालले एमसीसी खारेजीको विकल्प नभएको जिकिर गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.को अध्यक्षता,नेकपाका नेता नविन खड्काको स्वागत मन्तव्य र नेकपा जिल्ला सेक्रेटरी खेम घर्तिको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल र देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष अशोक थापालेपनि एमसीसी खारेजीको माग गर्दै आफ्ना भनाइ राख्नुभएको थियो । आन्दोलनको मोर्चामा आवद्ध दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा एमसीसीको बिपक्षीमा चर्को नारा लगाउँदै मसालबजारबाट सुरु भएको ¥याली सन्धिखर्क शान्ति बंगैचामा पुगेर कोणसभामा परिणत भएको हो ।