
काठमाडौं । महोत्तरीको जलेश्वरकी ‘बलात्कृत आमा’ निहारिका राजपुत चार दिनदेखि बसन्तपुरमा आमरण अनशनमा छिन्। न्यायका लागि भन्दै २१ महिनाको दुधे बालकसहित अनशनमा बसेकी निहारिकाको जीवन रक्षाका लागि विभिन्न ठाउँबाट राज्यमाथि दबाब बढ्न थालेको छ ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘कुमारी आमा’भनेर प्रचारित पीडित महिला निहारिका आफ्नो र दूधे बालकको न्याय र सुरक्षानिम्ति ४ दिनदेखि काठमाण्डौमा आमरण अनशनमा बस्न बाध्य हुनु हाम्रो राज्य र समाजको गालामा ठूलो थप्पड हो’ भन्नुभएको छ ।
सामाजिक सञ्जालमा भट्टराईले प्रश्न गर्नुभएको छ, ‘अहिलेको युगमा डीएनए परीक्षणले सहजै पितृत्वको ठहर गर्छ भने किन आलटाल ?’
निहारिकाले आफू १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाएकी छन्। बलात्कार पश्चात गर्भवती भएकी निहारिका त्यसयता न्यायको लडाइँमा छिन्।
कांग्रेस नेतृ डा. डिला संग्रौलाले निहारिकाले न्याय पाउनु पर्ने भन्दै निहारिकाको मुद्दामाथि पुनः अनुसन्धान थाल्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ ।
संग्रौलाले लेख्नुभएको छ, ‘बसन्तपुरमा आमरण अनशनमा रहेकी निहारिकाले १७ वर्षकी हुँदा बलात्कृत भएको र आफूले अझै न्याय नपाएको जिकिर गरिरहेकी छिन्। उनको मुद्दा सम्मानित उच्च अदालतमा विचाराधीन छ। भनिन्छ न्याय ढिलो हुनु भनेको न्याय नपाउनु हो। म प्रहरी प्रशासनलाई यो प्रकरणबारे फेरि अनुसन्धान थाल्न, न्यायालयलाई छिटो र सही न्याय दिन र बालक तथा आमाको गास,वास,कपासको उचित प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्दछु।’
यस्तै, राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगले पनि निहारिकाप्रति ऐक्यबद्धता जनाएका छन्।
महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले अनशन स्थलमा पुगेर निहारिकाको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।
निहारिकाले राष्ट्रिय महिला आयोगले आफ्नो मुद्दामा असहयोग गरेको बताउँदै आएकी छन् ।