जीवनको गोरेटो: कपिल ढकाल

कार्तिक महिना निकै चिसो बाहिर सिरसिर हावा चलिरहेको थियो । बिहान पाँच  बजेको टिकट बुटवलका लागि काटिसकेको हुनाले म छिटो छिटो पाहिला चालिरहेको थिएँ । एस. एल. सी दिनेबेलाको करिब एक महिनाको बसाइका यादहरू समेट्दै म पर्वतको कुश्मा बजारमा हिँडिरहेको थिएँ । सानोमा क, ख सिकाएका याद ताजा रहँदै सायद विद्यालय स्तरको पढाइ दिदीको समिपमा नै पूरा गर्ने कर्म भएर होला मलाई देशको परिस्थितिले जन्म घरमा बसेर पढ्ने सौभाग्य दिएन । देशमा माओवादीको जनयुद्धको कारण घर छोडेर हिँड्न परेको थियो । कक्षाकोठामा पढ्दा पढ्दै उनीहरू कक्षाकोठामा पस्थे । यो बुर्जुवा शिक्षा पढेर केही काम छैन भन्दै देशको लागि हतियार समाउनु पर्छ भन्ने भनाइ, नेपालले सुगौली सन्धि गरेर गल्ती गरेको हो भन्ने उनीहरूको भाषण हामी कलिला विद्यार्थीहरूले कसरी बुझ्ने ? के सही हो के गलत हामी केही छुट्टयाउन नसक्ने अवस्थामा थियौँ । बिहान झोला बोकेर पढ्न गएका हामी हतियार छोपेर हिँड्न परेको , हामी पाँच जना खाना खान आउँछौँ भात पकाएर बस्नु भन्दै घरघरमा हिँडेको, खान दिने बेलामा घरकी आमाले कति वर्ष भयो जनमुक्ति सेनामा हिँडेको भन्दै सोधेको, मैले खुसुक्क हामी जनमुक्ति सेना होइनौँ कक्षा दशमा अध्ययनरत विद्यार्थी हौँ भनेपछि ती आमाले गहभरि आँसु पारेर खाने खानामा घिउ हालिदिएको , सुत्नको लागि बाहिर लगाइदिएको बिस्तारा उठाएर भित्र लगेर सुताएको एक एक कुरा मेरो मस्तिष्कमा दैडिरहेका थिए ।
यात्रुहरूले खचाखच भरिएको गाडी म मेरो सिट नम्बर खोज्दै थिएँ । कन्टेक्टरले सबै आफैँ मिलेर बस्नु भनेको आवाज सुन्नासाथ गाडी गुडिसकेको थियो । टिकटमा मेरो सिट नम्बर खोजेँ तर त्यहाँ सिट नम्बर लेखेकै थिएन । लेखेको भए पनि बसिसकेका मानिसलाई उठाएर आफू बस्ने आँट मेरो थिएन । गाडीमा सिट नपाएको भन्दा पनि मलाई बोमिट हुने समस्या थियो । बल्ल तल्ल गाडीको बिचमा रहेको मुडोमा बसेर केही यात्रा के गरेको थिएँ भित्रबाट पेट मडारिएर बोमिट हुन थाल्यो म  कसैसित केही नबोली नजिकैको झ्यालतिर तानिएँ । सिटमा दुईओटी युवतीहरू थिए । जाडो मौसम बाहिरको चिसो आउने हुनाले झ्यालका सबै सिसाहरू बन्द थिए । सिसा खोल्दा खोल्दै मलाई बोमिट भयो तिनै युबतीको सहयोगमा मैले झ्यालबाट टाउको बाहिर निकालेँ ……….. मलाई कता कता डर लागेर आयो कारण सिटमा बसेका दुई जनामध्ये एक जनाको काखमा बोमिट परेको थियो । मैले उनलाई हेरेँ उनले मिलरल वाटरको बोतलको पानीले आफ्नो लुगा सफा गर्दै थिइन् । त्यतिबेला म गाडीको सिटको कुनामा पुगेको थिएँ उनीहरूले मलाई सोही सिटमा बस्न भने । छेउमा बस्ने दिदी बिहे भएको हुनुहुदो रहेछ त्यो मैले पछि थाहा पाएँ उहाँ म पहिले बसेको मुडोमा बस्न लाग्नुभएको थियो तर हामी तिनै जना दुब्ला भएको हुनाले सजिलै अटिने रहेछ । हामी तीन जना एउटै सिटमा बसेर यात्रा गर्न थाल्यौँ । सबै मानिसमा घमण्ड नहुँदो रहेछ । सहरमा बसेका हेर्दा बीस बाइस वर्षका केटीहरू बोमिट भन्ने शब्दमै नाक थुन्ने हुन सक्थे तर मैले उनीहरूमा त्यो घमण्ड देखिनँ । उल्टो मलाई बोमिट हुँदा पानी दिने मुख खोकल्न लगाउने गरिरहेका थिए । हामी पोखरा आउन्जेल हाम्रो यात्रा सहज भइसकेको थियो हाम्रो परिचय भयो उनीहरू दुईमा दिदीको नाम कमला र बहिनीको नाम सन्धया रहेछ ।  बुटवल लक्ष्मीनगरबाट बाग्लुङ तिहारको टीका लगाउन गएको  कुरा थाहा पाएँ । उनीहरू दुई भाइका छोरीहरू रहेछन् । जसमध्ये कमलाका बाबा बसाइ सरेर बर्दघाट गएको अनि बर्दघाटबाट पनि सरेर हाल लक्ष्मीनगर आएको  र आफ्नै दाजुभाइ नभएको कारणले टीका लगाउन सधैँ सन्धयाको घर बाग्लुङ जाने गरेको कुरा मैले थाहा पाएँ । बेलाबेलामा बोमिट हुन्थ्यो तर पनि कुरा गर्दै हामी बुटवल आयौँ । बोल्ने साथी पाएको कारण मेरो यात्रा धेरै सहज भएको अनुभव मैले गरेँ । त्यो भन्दा पहिले बुटवल एक दुई पटक आए पनि मलाई बुटवलका कुनै ठाउँ थाहा थिएन । बडेरामा मामाले घर बनाउनु भएकोले कहिलेकाहीँ मामाघर जाने बाटोको रुपमा बुटवल परेको थियो । पर्वतको सदरमुकाममा दिदीको घर भए पनि गाडी चढ्न पर्दैनथ्यो । सुरुमा गाडी चढ्दा धन्न मामा हुनुहुन्थ्यो र गाडी चढ्न पाइयो भनेको थिएँ । गाउँमा जन्मेकालाई गाडी  चढ्न त के देख्नसमेत पाइन्थेन । कति साथीहरू हात भाँचिए त पाल्पा जान पाइन्थ्यो भन्दै ठट्टा गर्दथे । हामीहरू अरुले गाडी चढेका अनुभव सुनेर दङ्ग पर्दथ्यौँ । पहिलो पटक हाम्री आमा रेल चढेर इन्डिया गएको कुरा अझ रोचक लाग्छ । मेरो बाबा इन्डिया भएको हुनाले आमा बाबाले बोलाएर पुसाजुसित इन्डिया जानुभएको रहेछ । गोरखपुरबाट रेलमा चढ्ने बेलामा रेलको ढोकामा ठोकिएर लगाएको चप्पल खसेछ । तीन दिनसम्म यात्रा गरेपछि रेलबाट झरेर मेरो चप्पल यतै छ कि भनेर रेलमुनि हेरेकी थिएँ भनेर आमाले सुनाउँदा म निकै हाँसेको थिएँ । सुरुमा गाडीको कुरा सुन्दा त्यति रमाउने मान्छे म पछि गाडी चढ्दा बोमिट हुने भएपछि कसैले गाडीको कुरा नसुनाओस् भन्ने लाग्थ्यो ।
सिद्धबाबा मन्दिरमा आएपछि बुटवल आइन्छ भन्ने कुरा मलाई थाहा थियो तर गोलपार्क कता हो भन्ने थाहा थिएन । मैले उनीहरूलाई गोलपार्क पहिले आउँछ कि लक्ष्मीनगर भनेर सोधेँ उनीहरूले गोलपार्क भनेपछि मलाई सजिलो भयो । साथमा मोबाइल थिएन र ठाउँ पनि थाहा नभएकोले उनीहरू पनि गोलपार्कमै झर्न तयार भए । गाडी गोलपार्कमा आएर पेट्रोल पम्पमा रोकियो । हामी तीनै जना गाडीबाट झ¥यौँ मैले उनको मोबाइल मागेर दिदीलाई फोन गरेँ ।  दिदीले गाडी रोकेकै ठाउँमा बस्नु म लिन आउँछु भनेपछि  मैले गाडी रोकेको ठाउँ बताएर उनीहरूलाई बिदा गरेँ । कमला दिदीले आफ्नो घरको भाडामा बस्ने बहिनी पनि यस पटक प्रविणता प्रमाणपत्र तहमा भर्ना हुन खोजेको बहिनी भर्ना हुने समयमा कलेज छनोट गरेर मलाई पनि खवर गर्ने कुरा गर्नुभएको थियो ।
एक दिन बिहान म भर्खर नुहाएर बाहिर निस्कना साथ दिदीले फोन आएको छ भन्दै मोबाइल थमाइदिनु भयो । फोन कमला दिदीको थियो । उहाँले मलाई बहिनी बुटवल क्याम्पसमा पढाइसम्बन्धि बुझ्न जाँदै छिन तिमी पनि जाने भए गोलपार्क आऊ भन्नुभयो । म सरासर उतै गएँ । कपिल ढकाल भन्ने हजुर नै हो ? यही प्रश्नबाट सरिता र मेरो कुराको सुरुआत भयो । मैले हजुर म नै हो भनेँ हामी बुटवल क्याम्पसतिर अगाडि बढ्यौँ उनको नाम सरिता हो घर रु रु भन्ने मलाई थाहा थियो । उनले म लक्ष्मीनगरको मान्छे हजुरलाई लिन आउँदा यतिका उल्टो बाटो हिँड्नु प¥यो दिदीले उनले कलेज चिनेका छैनन् तिमी गोलपार्क नै जाऊ भनेकोले यहाँ आएँ भनेर सुनाइन् । म आएको भोलिपल्ट साँझ दिदी र दिदीका साथी मीना र कल्पनासँग बहुमुखीको अघि फुल्की खान गएको थिएँ । कलेज पनि देखेको थिएँ तर त्यतिबेला मैले चिनेको छु भन्ने आँट आएन । उनको कुरा सुन्दै अगाडि बढेँ । आइतबारबाट कलेजमा पढाइ सुरु हुने पढाइ सुरु गरेको एक हप्ताभित्र भर्ना हुनुपर्ने जानकारी लिएर हामी आआफ्नो घर गयौँ । कलेजको पहिलो दिन म मेरी दिदीको साथी कल्पनासँग कलेज गएँ । कल्पना निकै साहसी, निडर स्वभावकी र अग्ली थिइन उनले मलाई बुटवल कलजको कोठा नं ११ मा लगेर यो मेरो भाइ हो । यस्लाई कसैले नजिस्काउनु भन्दै निस्किन्ँ सबै हाँसे म पनि हाँसेँ उनले गराएको परिचयले म सबैमा चिनिन पुगेँ । कलेजमा मेरा दिन एकपछि अर्के गर्दै बितेका थिए । मलाई बिस्तारै राजनीति लागेको थियो । कलेजमा देखिने समस्यालाई विद्यार्थी सङ्गठनका माध्यमबाट समाधान गर्ने काममा हामी सरिक भएका थियौँे । केही समय पहिले आपूmले पढ्नको लागि कलेजमा अरुलाई लगेर जानुपरेको म अहिले अरुको भर्ना गर्न फम छोपेर बस्ने भएको थिएँ । इन्टर पढ्ने मान्छेले ब्याचलर पढ्ने विद्यार्थीलाई कलेजमा रजिस्टेसन निकाल्ने, भर्ना गर्ने, परीक्षा फम भर्ने जस्ता काममा सहयोग गर्ने काम गरेर बस्न पाउँदा खुसी थिएँ । सरिता मेजर इङ्लिस र म मेजर म्याथको विद्यार्थी भएको हुनाले हाम्रो भेट अनिवार्य विषय पढ्ने बेलामा मात्र हुन्थ्यो । कलेजमा विभिन्न कार्यक्रम हुन्थे । मलाई साहित्यमा अत्यन्तै रुचि थियो । कलेजमा हुने हरेक कार्यक्रममा म औपचारिक वा अनौपचारिक दुबै किसिमले भाग लिन्थेँ । सरिता पनि गीत,गजल र कवितामा निकै दखल राख्ने थिई उसले लेख्ने कविता र गजलले थुप्रै पुरस्कार पाएका थिए । गजलमा मैले पनि राम्रो स्थान लिएको थिएँ । गुल्मीको खड्गकोटमा हुने विभिन्न कार्यक्रममा पुरस्कृत भएको प्रगतिशील देउराली युवा समूहमा बिभिन्न कार्यक्रम चलाएको हुनाले बुटवलमा पनि राम्रै चर्चा कमाएको थिएँ । गीतमा हुने दोहोरीसँगै हाम्रो गजलमा पनि दोहोरी हुन लागेको थियो ।  सरिताले एउटा गजल भन्दा कपिलले यसको जवाफ के दिन्छ र कपिलले एउटा गजल भन्दा सरिताले यसको जवाफ के दिन्छे साथीहरूलाई चासोको विषय बन्थ्यो । हाम्रो गजलको दोहोरीको खेल यसरी चलेको थियो ।
सरिता
पिरतीको जुनी जुनी नछुट्टिने कसम खाऊ
आऊ काखमा बस कपिल लौ यिनी हात समाऊ

बाहिर कतै कदम चाल्दा निरीक्षण हुन थाल्यो
कसैसँग बोल्दा देखे घरमा जान दिँदैनन् बाउ

तिमी भन्छौ फोन गरिनौ थाहा पाएँ बाले चुट्छन्
अङ्कलका त कुरै छाड उनी त झन परेछन् राहु

आफ्नो कमाइ सुको छैन न उठेर हिँड्न सक्छु
न बाउले भनेका छन् छोरी तिमी पढ्न जाऊ
आऊ काखमा बस कपिल लौ यिनी हात समाऊ
इत्यादि
मेरो जवाफ
बाहुले कमाइ न दे आफै कमाउली हुँदैन र ?
रु रु छाड देउराली मै रमाउली हुँदैन र ?

लुकी छिपी फोन गर्दा नि बाउको गाली खाँदि रैछ्यौ
भागी जाऔँ भो उतै घरबार जमाउली हुँदैन र ?

विहे गरौँ दुःख सुख जिन्दगीको गोरेटोमा
अफ्ट्यारो परे हात समाउली हुँदैन र ?
रु रु छाड देउराली मै रमाउली हुँदैन र ?

यसरी बितेका मेरा दिनहरूले बिस्तारै समय बिताउँदै गए मैले विशेष कारणले मेजर म्याथ छोडेर मेजर नेपाली पढ्न थालेको थिएँ । पढाइ राम्रो भएको र प्रथम वर्षको नतिजा राम्रो भएको हुनाले कलेजबाट छात्रवृत्ति पाएको थिएँ । निकै रमाइलो तरिकाले मेरा प्रविणता प्रमाणपत्र पढ्दाका दिनहरू बिते दोस्रो वर्षको परीक्षा सकेपछि म आफ्नै जन्मथलो खड्गकोट देउराली गुल्मी गएँ ।
केही समयपछि बुटवल आएर गोलपार्कमा बसेको कोठा छोडेर सुख्खानगरमा सरेको  थिएँ । अचानक मलाई पहिलोपटक कलेज लैजाने कल्पना दिदीले पाल्पामा आत्महत्या गरेको खवर आयो कारण बुझ्न खोज्दा आर्थिक समस्या बेरोजगारीको कारण भन्ने थाहा भयो । मेरी आफ्नै दिदी जानकीको पनि भरतपुरमा विवाह भयो । सरिता विहे गरेर काठमाडौँ गएको खवर थाहा भयो परिवारमा पनि आर्थिक अभाव परेको थियो विदेशमा दाजु जेलमा परेको खबर आयो । देशमा राजनीतिक अस्थिरता कायमै थियो । बुटवलमा सहयात्री दाजु प्रचण्ड थैवको हत्या भयो । दोस्रो वर्षको परीक्षाको नतिजा आएको थिएन आए पनि जागिरको सम्भावना थिएन एकछिन सबै कुरा सोचेँ अनि नागरिता झिकेर सरासर हिँडेँ तम्घास राहदानी बनाउन ………..।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार