
अर्घाखाँची । मृगौला तथा मुटु पिडित सरोकार समाजको अध्यक्षमा रमेश के.सी. निर्वाचित हुनुभएको छ ।
मृगौला तथा मुटुरोग संग सम्बन्धित बिरामीले उपचार अभावमा ज्यान गुमाउन नपरोस्, भन्ने उदेश्यका साथ स्थापित यो संस्थाको रुपन्देहीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष के.सी.को नेतृत्वमा ११ सदस्यिय कार्यसमिति सर्वसहमत गठन गरेको हो । अधिवेशनको उद्घाटन गर्दै लुम्विनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले नागरिकको स्वास्थ्यसंग प्रदेश सरकार गम्भिर रहेको बताउनुभएको छ । राज्यको मुख ताक्ने मात्रै भन्दापनि आफ्नो स्वास्थ्य जोगाउन नागरिक आफैलेपनि बिशेष ख्याल गर्नुपर्नेमा उहाँको जोड छ ।
प्रभावकारी उपचार देखि आर्थिक सहायता सम्मका सेवाहरु प्रदेश सरकारले प्रदान गर्ने गरि अगाडि बढेको भन्दै उपाध्यक्ष क्षेत्रीले प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्यसेवालाई सुविधायुक्त र गुणस्तरिय बनाउँदै लैजाने उद्घोष गर्नुभएको छ ।
कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम,बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.समिर गौतम,महिला जेसिसका अध्यक्ष अनुपमा श्रेष्ठ र तिलोत्तमा नेवा मैजु खलका अध्यक्ष मिलन श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष रमेश के.सी.को अध्यक्षता र कोषाध्यक्ष चुरामणी बन्जाडेको संचालनमा सम्पन्न अधिवेशनले कृष्ण मल्ललाई उपाध्यक्ष र नारायण बहादुर क्षेत्रीलाई कोषाध्यक्षमा चयन गरेको छ ।
यस्तै समितिको सदस्यहरुमा रेखा श्रेष्ठ,शारदा थापा,शिवराज पौडेल,तमिना शर्मा,रेख बहादुर गुरुङ्ग,गोपाल बहादुर सर्तुङ्गे र सिमा रेग्मी न्यौपाने छनौंट हुनुभएको छ ।
संस्थाले मुटु तथा मृगौलारोगीको उपचारमा सहयोग,रोगबाट ग्रस्त पिडित तथा यसबाट ज्यान गुमाएकाहरुको परिवारलाई राहत एवम् बिभिन्न सहायता उपलब्ध गराउने र गराउन पहल गर्ने गर्दै आइरहेको संस्थाका अध्यक्ष रमेश के.सी.ले जानकारी दिनुभएको छ ।