बाैद्ध शिक्षा र दर्शनको महत्व बढ्दै गएकाे छ: प्रधानमन्त्री देउवा

काठमाडौं ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध शिक्षा र बौद्ध दर्शनको महत्व र सान्दर्भिकता आजको विश्वमा झन बढेर गएको बताएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले  शुक्रबार लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै बुद्ध दर्शनको ज्ञानमय यात्रा आजको विश्वमा उत्तिकै सन्दर्भिक रहेको बताएका हुन्।

प्रधानमन्त्री देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको उल्लेख गर्दै बौद्ध शिक्षा,साहित्य र इतिहासलाई देश विकाससंग जोडेर अगाडि बढ्नु पर्ने बताए। उनले उच्च शिक्षालाई देशको श्रोत,साधन,आवश्यकता र सम्भावनासँग जोडेर आवश्यक जनशक्ति तयार गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए। बुद्धले प्रतिपादन गरेको आर्यअष्टाङ्गिक मार्ग लगायतका सुत्रात्मक शिक्षा २१ औ शताब्दीमा पनि उत्तीकै महत्वपूर्ण रहेको बताए।

बुद्धको मातृभुमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र बन्ने भन्दै उनले त्यसकालागि नेपालले आफूलाई बौद्ध कला,दर्शन, साहित्य र संस्कृतिको मुल श्रोतको रुपमा सिद्ध गर्नु पर्ने चुनौती रहेको उल्लेख गरे। ‘संभावना र चुनौतीको यो संयोगले हामीलाई अझै बढी वैज्ञानिक,व्यवस्थित र युगानुकुल हुन उर्जा दिइरहन्छ’ प्रधानमन्त्री देउवाले भने। प्रधानमन्त्री देउवाले इतिहासकालदेखि प्रचलनमा रहेका बौद्ध परम्परा,संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येताहरुकालागि चासो र महत्वपूर्ण सम्पदाको रुपमा रहेको बताए।

वैज्ञानिक अनुसन्धानद्वारा बौद्ध कला सहित्य र पुरातत्वलाई विश्वव्यापी प्रबद्र्धन गर्दै  मुलुक निर्माणको साझा कर्तब्य पुरा गर्न  उनले विश्वविद्यालयका बिद्यार्थीहरुलाइ आग्रह गरे। बुद्ध जन्मस्थलमै बौद्ध विश्वविद्यालय हुनु राष्ट्रकै गौरव र अपूर्व महत्व रहने भन्दै उनले बौद्ध शिक्षाको देशव्यापी प्रचारप्रसार गर्नु पर्ने जोड दिए। समुद्ध मुलुक निर्माणको अभियानलाई सार्थकता दिन शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले बौद्ध पर्यटन बिस्तार र रोजगारी सिर्जनालागि आवश्यक जनशक्ति उत्पादनको नीति लिइनु पर्नेमा जोड दिए। विश्वबिद्यालयको उत्कृष्टतालाई कायम राख्दै जीवन उपयोगी र समयसापेक्ष बनाएर अगाडि बढ्नु पर्ने बताए।

दिगो पर्यटन विकासका लागि विश्वबिद्यालयले बौद्ध शिक्षाका माध्यमबाट वातावरण तथा दिगो विकासको नीति अनुरुप नै अध्ययन अध्यापन र तथा अनुशन्धानमा लाग्न आग्रह पनि गरे। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले  विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाइ देश विकासमा जोडिनु पर्ने बताए। विश्वबिद्यालयका सहकुलपती समेत रहेका मन्त्री पौडलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नु पर्नेमा जोड दिएका हुन्। सो अवसरमा लुम्बिनी बौद्ध विश्वबिद्यालयबाट बिभिन्न चरणमा उत्तिर्ण भएका बिद्यार्थीहरुलाई दिक्षित गरीएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार