
बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जीसीले सत्ता सञ्चालक पार्टीका नेताहरुका कारण टाट पल्टन लागेको बताएका छन्।
देशलाई टाट पल्टाउने नेताको हालत श्रीलंकाली नेताको जस्तै हुनसक्ने सांसद जीसीको भनाइ छ । आइतबार लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७९–८० को विनियोजित बजेट छलफलमा बोल्दै सांसद जीसीले देशलाई टाट पल्टाएपछि श्रीलंकाका जनताले पुराना नेतालाई घर घरबाट निकाल्दै पिट्दै गरेको उदाहरण दिंदै तयस्तो अवस्थामा नेपालमा पनि आउन सक्ने बताइन ।
सांसद जीसीले ठूला दलहरुले संघीयता जस्तो महंगो व्यवस्था रोजेर देशलाई टाट पल्टाउने र कार्याकर्ता व्यवस्थापनमा राज्यको धुकुटी दुरुपयोग गरेको आरोप लगाइन । उनले प्रदेशबाट माग सम्बोधन नगरेर, स्थानीयतहमा घात गरेर देशबाट राष्ट्रिय जनमोर्चा समाप्त होस भन्ने प्रपञ्च रचिएको उल्लेख गर्दै राजमो कसैको श्रापले समाप्त नहुने र राष्ट्रिय जनमोर्चालाई गैरराजनीतिक आरोप लगाउनेहरु समाप्त हुने बताइन ।बजेटको सन्दर्भमा सांसद जीसीले मुख्मन्त्रीको निर्देशनमा तल्लो दर्जाको भेदभाव गरिएको र मन्त्रीहरूले मनोमानी गरेको भन्दै सरकार प्रमुखले जवाफ दिनुपर्ने सांसद तारा जीसीको भनाइ छ ।