काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्ष नेता शनिबार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहित मन्त्रीहरु निजगढ पुगेर विमानस्थल निर्माणस्थलबारे जानकारी लिनुभएको हो ।
त्यस क्रममा प्रधानमन्त्रीलगायत शीर्ष नेताले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे धारणा राख्नुभएको थियो ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने÷नबन्ने अन्यौलताका बिच सर्वोच्च अदालतले यही असार १५ गते आदेशको पूर्णपाठ दिएको छ । यसअघि १२ जेठमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएका सबै निर्णय खारेज गरेको थियो ।
फैसलाको पूर्णपाठले हालको प्रक्रिया खारेज भएपनि त्यहीँ विमानस्थल बन्नसक्ने बाटो भने खुला गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने भए विज्ञहरुको अध्ययन टोली बनाई कम भन्दा कम वातावरणीय क्षति हुने ठाउँ छनोट गरी निर्माण गर्न आदेश दिएको छ ।
राष्ट्रिय जनमाेर्चाका उपाध्यक्ष दुर्गा पाैडेलका अनुसार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार तथा गठबन्धनको तर्फबाट आवश्यक सहयोग गर्ने सन्देश दिन शीर्ष नेताहरु त्यहाँ पुगेका हुन् ।
पौडेलले भन्नुभयो, ‘सर्वोच्च अदालतको फैसलाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोकेको छैन । खाली कम वातावरणीय क्षति हुनेगरी निर्माण गर्न अदालतले आदेश दिएको हो । त्यसकारण प्रधानमन्त्रीले पनि सम्बोधनका क्रममा सरकारका तर्फबाट सबै सहयोग गर्ने र बाँकी विज्ञहरुले अदालतको आदेशअनुसार कम भन्दा कम वातावरणीय क्षति हुने गरी काम अगाडि बढाउन निर्देशन दिनुभएको छ ।’
उहाँका अनुसार प्रधानमन्त्रीले दुई रेनवे डिजाइन गरेर काम थाल्न र विमानस्थल क्षेत्रको करिब आठ हजार हेक्टर जमिन विमानस्थलकै नाममा राख्न निर्देशन दिनुभएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलमा पाँचै दलका शीर्ष नेताले सम्बोधन गरेका थिए । त्यसक्रममा सम्बोधन गर्दै पौडेलले नेपालमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल आवश्यक रहेको र त्यसका लागि सबैभन्दा उपयुक्त क्षेत्र निजगढ नै रहेको भन्ने विज्ञहरुको सुझाव रहेको उल्लेख गर्नुभयो ।
उहाँले कुनै पनि विकास निर्माणको काम गर्दा निास पनि हुनसक्ने उल्लेख गर्दै निजगढमा अन्तर्राष्ट्रि विमानस्थल बनाउन पार्टीको तर्फबाट सरकारलाई साथ दिने बताउनुभयो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत प्रस्तावित विमानस्थल क्षेत्रको निरीक्षण गरेका प्रधानमन्त्री देउवाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने बताउनुभएको थियो ।
शीर्ष नेताहरुको टोलीले हालसम्म भएका प्रगतिबारे जानकारी लिनुका साथै टोलीले जीतपुर–सिमरा उपमहानगरपालिका, निजगढ र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल समेत गरेको थियो ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठ, वनमन्त्री रामसहाय यादव, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसमेत सहभागीता थियो ।