अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा ८०.३२ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ ।
नगरपालिकाले आज आयोजना गरेको बार्षिक प्रगति समिक्षा कार्यक्रममा योजना शाखा प्रमुख हरिषचन्द्र भुसालले नगरको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ८०।३२ प्रतिशत आर्थिक प्रगति गरेको जानकारी दिनुभएको हो । उहाँका अनुसार नगरपालिकाले गत आ.वमा ८३ प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ ।
समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख झविलाल थापाले विकासको यात्रामा अलिक हचुँवापना देखिएको भन्दै जिम्मेवार भएर भुमिका निर्वाह गर्न सरोकारवालालाई आग्रह गर्नुभएको छ । भएका प्रगतिको संरक्षण र दिगो विकास अबको लक्ष्य हुनुपर्नेमा उहाँको जोड छ । आन्तरिक स्रोत कम भएपनी भुमिकास्थानमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकोले यसलाई व्यवसायीक बनाएर समृद्धि हासिल गर्न सकिने नगरप्रमुख थापाको धारणा छ । गत आ.व.मा गरेको प्रगतिमा भुमिका खेल्ने जनप्रतिनिधि,कर्मचारी,राजनितिक दल सहित सम्पूर्ण सरोकारवालालाई नगर प्रमुख थापाले धन्यावाद ज्ञापन गर्नुभएको छ ।
नगर उप–प्रमुख बालकृष्ण बन्जाडे,नगर प्रवक्ता बाबुराम पन्थी,१० वटै वडाका अध्यक्ष,राजनितिक दल,कार्यपालिका सदस्य,पत्रकार महासंघ अध्यक्ष अशोक खनाल सहित पत्रकार लगायतको सहभागितामा सम्पन्न बार्षिक समिक्षा कार्यक्रममा उठेका सवालहरुको प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत क्षेत्रीले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले कमजोरीको जिम्मा अरुलाई दिने नभइ आफ्नो दायित्व र जिम्मेवारी कुशलता पूर्वक पुरा गर्न सबै क्षेत्र जुटेमा नगरको समृद्धि हुने बताउनुभएको छ । पछिल्लो समय उपभोक्ता समिति गठन हुने तर काम ठेकदारले गर्ने र समितिले कमिशन खाने चलखेल सुरु भएको आशंका व्यक्त गर्दै यसलाई रोक्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
कार्यक्रममा १० वटै वडाका सचिव र नगर स्थित बिषयगत शाखा प्रमुख हरुले आ–आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नगरपालिकाका कर्मचारि शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस नेतृ चन्द्रा गैरे,राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष टेक बहादुर थापा,पत्रकार हृदय कुमार भुसाल,रुद्रमणी भुसाल लगायतले जिज्ञासा र सुझाव राख्नुभएको नगरपालिकाका सुचना प्रविधि अधिकृत चिरनजीवी भुसालले जानकारी दिनुभएको छ ।
यसैविच भुमिकास्थान नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को लागि ११ औं नगरसभाबाट पारित निति,कार्यक्रम तथा बजेट समेटिएको रातो किताब समेत बिमोचन गरेको छ ।
बिशेष कार्यक्रमको बिच नगर प्रमुख झविलाल थापा र उप–प्रमुख बालकृष्ण बन्जाडेले पुस्तक बिमोचन गर्दै नगरको एक बर्षे कार्यक्रमलाई सफल पार्न सबैको सहयोगको निम्ती अपिल गर्नुभएको छ । यसरी रातो किताब प्रकाशन गरि चालु आ.ब.को योजना संचालनका निम्ती मार्ग प्रशस्त गर्न भुमिकास्थान नगरपालिका जिल्लामै पहिलो भएकोमा सरोकारवालाहरुले प्रशंसा गरिरहेका छन् ।