काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलालहरुले भिजिट भिसामा नेपाली चेलीलाई अरबमा लगेर बेच्ने गरेको बताउनुभएको छ ।
बिहीबार माइती नेपालले काठमाडौंको होटल एभरेस्टमा आयोजना गरेको ‘मानव बेचविखन विरुद्ध राजनैतिक दलको प्रतिबद्धता’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राज्यले खाडी मुलुकमा महिलालाई जान रोक लगाए पनि दलालले भारतको बाटो महिलालाई खाडी पुर्याइरहेको बताउनुभयो ।
उहाँले भिजिट भिसामा महिलााई भारत–श्रीलंका हुँदै दुबई पुर्याएर बेच्ने गरेको भन्दै मानव ओसार पसारमा कडाइ गर्नुपर्ने बताउनुभयो ।
‘जहाँ कानुन छ, सुरक्षा निकाय छ, राजनीतिक दल छन्, तर त्यहाँ नेपाली चेलीहरु अझ बेचिएका छन् । दलालहरुले आजभोलि भिजिट भिसामा भनेर पठाइ रहेका छन्’ केसीले भन्नुभयो, ‘राज्यले खाडी मुलुकमा नेपाली महिलाहरूलाई जानबाट रोक लगाएको छ, यो काम राम्रो हो। तर एयरपोर्ट बाट होइन, इन्डियाबाट श्रीलंका हुँदै दुबई जाने गरेका छन् । जसरी मुस्ताङका भेडा दसैं तिहारमा रोजेर मन पराएर लान पाइन्छ । नेपाली छोरी बेटीहरु अरबका मुलुकहरुमा त्यसरी नै बेचिन्छन् ।’
अध्यक्ष केसीले भारतलगायतका तेस्रो मुलुकबाट पार्टी निकट नेपाली एकता समाजले कैयौँ महिलाको उद्धार गरेको स्मरण गर्नुभयो । सामाजिक संगठनले महिला बेचविखनविरुद्ध पहल गरेपनि राज्य उदासिन रहेको केसीको आरोप थियो ।
‘प्रवासमा रहेका हाम्रा संगठनका साथीहरुले इन्डियाका बेस्यालयमा बेचिएका कैयौं नेपाली चेलीहरुको उद्धार गरेर नेपाल ल्याएर जिम्मा लगाएका छौँ’ केसीले भन्नुभयो, ‘तर यस विषयमा राज्य गम्भीर छैन । महिला होस् वा पुरुष बेचविखन होस्, यस्तो विषयमा राज्य नै गम्भीर छैन ।’
उहाँले अहिले पनि सञ्चारमाध्यममा आएअनुसार भिजिट भिसामा ५३ हजार नेपाली महिला तेस्रो मुलुक गएको बताउनुभयो । गरिबी, बेरोजगारी जस्ता समस्याका कारण विदेशिएका नेपाली चेलीहरुको अत्यन्त दयनीय अवस्था रहेको केसीले बताउनुभयो ।
‘राज्यले कानुन बनाएको छ तर कडाइ गरेको छैन । दलालहरुले भिजिट भिसाको नाम जोडेर बेचबिखन गरिरहेका छन्’ केसीले भन्नुभयो, ‘कति ठूलो संख्यामा पुरुष र महिलाहरु गइरहेका छन् । त्यसकारणले यो क्षत्रमा अत्यन्त अप्ठ्यारो छ । यो विषयमा कुनै एउटा व्यक्तिले होइन समग्र राजनीतिक पार्टीले कार्यक्रममा घोषणा पत्रमा समावेश गरिनु पर्छ र पार्टी हरुले यसखालको गलत कार्यका विरुद्धमा सरकारको खबरदारी गर्नु पर्छ ।’ उहाँले महिलाहरुलाई सचेत बनाउन जनचेतना जगाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
विभिन्न दलका नेताहरुले महिला बेचविखनविरुद्ध प्रतिबद्धता व्यक्त गरेको सो कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो ।