काठमाडौं । चुनावको खर्च विवरण ढिलागरी निर्वाचन आयोगमा बुझाएका काठमाडौं महानगरका बालेन शाह आयोगको कारबाहीमा परेका छन् । चुनावको परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि उनले ढिलागरी खर्च विवरण बुझाएका थिए ।
निर्वाचन आयोगले शुक्रबार खर्च विवरण नबुझाउने र ढिलागरी बुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारलाई कारबाही गर्दा बालेन पनि कारबाहीमा परेका हुन् । यसरी कारबाहीमा परेकाहरूमाथि आयोगले जरिवाना तोकेको छ । सो जरिवाना ६ महिनाभित्र बुझाउनुपर्ने आयोगको निर्णय छ । ६ महिनाभित्र जरिवाना नबुझाए उनीहरूको पद स्वतः जानेसमेत आयोगले निर्णय गरेको छ ।
यसरी कारबाहीमा पर्नेमा काठमाडौं महानगरका मेयर शाह, पोखराका मेयर धनराज आचार्य, भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, विराटनगर महानगर मेयर नागेश कोइराला, उपमेयर शिल्पा कार्की, वीरगन्ज महानगर मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम र काठमाडौं महानगरकी उपमेयर सुनीता डंगोललगायत छन् । धनराजले ढिलागरी खर्च विवरण बुझाएका थिए भने अन्यले विवरण नै बुझाएका छैनन् । महनगरका मेयरले साढे ७ लाख रुपैयाँ जरिवाना दिनुपर्ने आयोगले निर्णय गरेको छ ।
यस्तै धरान उपमहानगरका मेयर हर्क साम्पाङलगायतका उपमहानगरका केही मेयर तथा उपमेयर पनि खर्च विवरण नबुझाएपछि कारबाहीमा परेका छन् । हर्क ढिलागरी विवरण बुझाएपछि कारबाहीमा परेका हुन् भने अन्यले विवरण नै बुझाएका छैनन् । उनीहरूमाथि साढे ६ लाख जरिवाना लगाइएको छ ।