
बुटवल, १६ मंसिर । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताउनुभएको छ। रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताउनुभएको छ।
उहाँले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निणर्य पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिका टिप्पणी आवश्यक नरहेको बताउनुभयो। उहाँले माओबादी केन्द्र पनि गठबन्धनको दोस्रो ठुलो दल भएको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित छलफल गरेर प्रधानमन्त्री टुङ्गिने बताउदै माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रह गर्नुभयो।
पत्रकारहरूले तपाईंको सरकारमा भूमिका के भन्ने प्रश्नको जवाफ दिँदै शर्माले पार्टीले जुनसुकै मन्त्री दिए पनि स्विकार्दै त्यसको जिम्मेवारी पुरा गर्न सक्षम रहेको दाबी गर्नुभयो। गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री भनी हाल्ने अवस्था नरहेको तर्क छ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई दाङबाट पराजित गर्नको लागि गठबन्धनका दलबाट निकै मेहनत भएको बताउँदै गठबन्धन सफल भएको दाबी गर्नुभयो।
यता लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले सम्भव भएको बताउनुभयो । उहाँले पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको समेत बताउनुभयो।
उहाँले राजनीतिक दलहरूले युवाहरूलाई सम्मानजनक रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो। उहाँले युवाहरूको जबरजस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने बताउनुभयाे।
कार्यक्रम रिपोटर्स क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षतामा र तेजेन्द्र केसीकाे संचालनमा सम्पन्न भएको थियो ।