प्रदेश संरचना खारेजीको माग उठाउने व्यक्तिनै बने प्रदेश सभाको सभामुख

काठमाडौ । 

बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन्।

शुक्रबार प्रदेशसभामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मतका साथ निर्वाचित भएका हुन्। पाठक राप्रपाका निर्वाचित महामन्त्री समेत हुन्। पाठक तिनै व्यक्ति हुन्, जो प्रदेश संरचना खारेजीको माग उठाउँदै आएका छन्।

शुक्रबार सभामुख बन्नुअघि सांसदको रूपमा प्रदेशसभामा प्रवेश गर्दा पनि पाठकले प्रदेश संरचना खारेजीकै माग उठाएका थिए। उसो त, उनको दल राप्रपाको मुख्य एजेण्डा नै प्रदेश संरचना खारेजीको छ। प्रदेशसभाको पहिलो कार्यकालमा राप्रपाबाट दुईजना मात्रै समानुपातिक सांसद थिए।

पाँच वर्षभरिमा जतिपटक उनीहरू संसद्‌मा बोले, हरेक पटक उनीहरू प्रदेश संरचना खारेजीको माग गरे। यही एजेण्डा उठाउँदै राप्रपाले यो निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी संसद्‌मा १३ सिट जित्यो। प्रदेश खारेजीको माग गर्दै प्रदेशसभा छिरेको राप्रपा यतिवेला प्रदेशलाई बलियो बनाउन सबैभन्दा बढी भूमिका खेल्ने स्थानमा पुगेको छ।

संघीयता बलियो बनाउन निर्माण भएको प्रदेशसभाको जिम्मा अब प्रदेश संरचना खारेजीको माग गर्दै आएका पाठकको हातमा छन्। उनी प्रदेश तहलाई बलियो बनाउने कानुन निर्माण गर्ने, छलफल गर्ने र कानुनलाई अन्तिम रूप दिने ठाउँमा पाठक पुगेका छन्।

२०३६ सालबाटै पञ्चायतको वकालत गर्दै आएका पाठकले प्रदेशसभालाई अब कतातिर लैजालान् ? भन्ने उत्सुकता सबैलाई छ तर त्यो हेर्नका लागि केही समय कुर्नुपर्ने नै छ।

राप्रपाको मुल मुद्दालाई आत्मसात गर्दै संघीयता फेल गर्ने खेलमा लागेको अवस्थामा उनको पद नै धरापमा पर्न सक्छ। ‘म पूर्ण तटस्थताका साथ आफ्नो भूमिका निर्वाह गर्छु, प्रदेशसभा सबै राजनीतिक दलको साझा थलो हो। म कुनै पक्ष विपक्षीमा नलागी राजनीतिभन्दा माथि उठेर काम गर्छु’, सभामुख निर्वाचित भएपछि उनले भने।

कुल ११० सिटमध्ये १३ सिट सहित बागमती प्रदेशमा चौथो शक्ति बनेको राप्रपा एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन निर्णायक बन्यो। जसले गर्दा पाठले सभामुख बन्ने मौका पाए। ११० मध्ये १३ सांसद मात्र हुँदा समेत उनलाई ६६ सांसदको उल्लेख्य बहुमत प्राप्त भएको छ अर्थात् उनलाई अब राप्रपाभन्दा दुई तिहाइभन्दा बढी दलले संघीयता बलियो बनाउनका लागि विश्वास गरेका छन्।

उनको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका थिए। एकजना सांसद भने अनुपस्थित भए। सभामुख पदका कांग्रेसका उम्मेदवार शिवराज अधिकारीले जम्मा ३६ मत पाए। उनको विपक्षमा ६५ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन्। एकजना सांसद भने अनुपस्थित थिए।

त्यसैगरी सभामुख पदकी उम्मेदवार सृजना सायजुले जम्मा ३ मत पाइन्। उनको विपक्षमा ९८ सांसदले मतदान गरे भने तटस्थमा ७ सांसद रहेका थिए। एकजना सांसद अनुपस्थित रहे।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार