पत्रकारीता संगै कृषि कर्ममा रमाउदै अर्घाखाँचीका गाेपालप्रसाद भट्टराई

अर्घाखाँची।  भूमिकास्थान नगरपालिका १० धनचाैरका गाेपाल प्रसाद भट्राईले रेडियोमा समाचार बाचन गर्न लागेको एक दशकभन्दा लामो समय भयो । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा रहेको रेडियो अर्घाखाँचीमा स्टेशन म्यानेजरको रुपमा लामो समयदेखी कार्यरत पत्रकार भट्टराई अर्घाखाँचीमा चिर परिचित नाम समेत हो ।

हरेक कार्यक्रमहरुमा खरो रुपमा प्रस्तुत हुने भट्टराई अर्घाखाँचीमा सादगी पत्रकारको रुपमा समेत परिचित छन् । लामो समयदेखी रेडियोलाई कर्मथलो बनाई हरेक दिन बिहान र साँझ रेडियो मार्फत समाचार सुनाउने भट्टराईको दैनिकी भने अरु पत्रकारहरुको भन्दा निकै फरक छ ।

सन्धिखर्क बजारदेखी करीव तीन किलोमिटरको दुरीमा रहेको रेडियो स्टेशनबाट दैनिक पैदल सन्धिखर्क आउने जाने भट्टराईले रेडियोको हाताभित्रै ब्रोइलर कुखुराको फर्म संचालन गरेका छन् । जग्गा भाडामा लिएर व्यवसायिक खेती समेत गरेका भट्टराईको खोरमा बाख्रा तथा लोकल कुखुराहरु समेत कहिल्लै छुट्दैनन् ।

बिहान पाँच बजे रेडियो खालेपछि सात बजेको स्थानीय समाचारको तयारी संगसंगै पशुचौपायाको दानापानी समेत सकाउछन् भट्टराई । रेडियोमा समाचार पढिसकेसकेपछि दैनिकजसो एकभारी घाँस काटेपछि बल्ल शुरुहुन्छ भट्टराईको सार्वजनिक जीवन ।

“कुन्नी किन किन पाखुरामा निकै गर्व लाग्छ” भट्टराई भन्छन् “कार्यालयहरुमा धाउनुभन्दा आफ्नै बारीमा पसिना बगाउनुमा निकै आनन्द लाग्छ ।” हरेक दिन माटोसंग खेल्ने पत्रकार भट्टराईले घरखर्च कृषि कर्मबाटै धानेका छन् ।

कृषि कर्मलाई आफ्नो दैनिकी बनाएपछि वास्तविक किसानको मर्का राम्रोसंग बुझ्ने मौका मिलेको भट्टराईको भनाई छ । कृषकले उत्पादन गरेको कृषि उपजले ग्राहक मुल्यभन्दा आधा मुल्य पनि नपाउने गरेको भट्टराईको गुनासो छ । “किसान दुव्लाउदै जाने अनि विचौलिया मोटाउदै जाने समस्या निवारणको लागि राज्यले नै बजार सुनिश्चित गराउनुपर्छ” भट्टराईले भने ।

भट्टराईको फर्ममा अहिलेपनि पाँच सयको हाराहारीमा ब्रोइलर कुखुराका चल्ला छन् । आधा दर्जनको हाराहारीमा बाख्रा, सोही संख्यामा लोकल कुखुरा पालेका भट्टराईको बारीमा यतिवेला लटरम्म केराउ फलिरहेका छन् । “आफ्नै पाखुराको कृषि कर्मबाट धेरै आम्दानी हुने भन्दापनि पौरखको खाना मिठो हुन्छ” भट्टराईले भने ।

पत्रकार भट्टराईको पौरख अरुको लागि पनि प्रेरणा हुने उनलाई नजिकबाट चिन्ने पत्रकार हृदय कुमार भुसालको भनाई छ । “उहाँबाट धेरैले केही न केही सिक्न जरुरी छ ।” नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सहसचिव समेत रहेका भुसालले भने “इमान कहिल्लै नगुमाउने, आफ्नै पाखुरामा रमाउने गोपाल जीबाट म निकै प्रभावित छु ।”

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार