तनहुँ,बैसाख १२ । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्।
हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्।वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।
तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्। दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ।
गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो। मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए।
वाग्लेले गत चैत १५ गते कांग्रेस छाडेको घोषणा गरेपछि त्यसै दिन राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई तनहुँ-१ बाट उम्मेदवार बनाएको थियो। उनले कांग्रेस छाड्दा सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणाका कारण पार्टी छाड्नुपरेको गुनासो पोखेका थिए।
अन्तिम नतिजा हेराैँ:
तनहुँ १ – उपनिर्वाचन
स्वर्णिम वाग्ले -राष्ट्रिय स्वतन्त्र पार्टी विजयी- ३४९१९
गोबिन्द भट्टराई -नेपाली कांग्रेस -२०१२२
सर्वेन्द्र खनाल -नेकपा एमाले -८४८८
शोभा गुरुङ -राष्ट्रिय प्रजातन्त्र पार्टी -२१८
प्रेमबहादुर थापा -मंगोल नेशनल अर्गनाइजेसन -१६६