
गाेपाल प्रसाद भट्टराई
बैशाख–१२,अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरप्रमुख झविलाल थापाले कृषिमा आत्मनिर्भर पालिका बनाउने योजना सुनाउँदै हातेमालो गर्न नागरिकलाई अपिल गर्नुभएको छ । बढ्दो बसाइसराइ र बेरोजगारीको संकटलाई रोक्दै आर्थिक समृद्धि हाँसिल गर्न पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने अभियानमा आफुहरु जुटेको उहाँको भनाई छ । कृषि र पर्यटन नै भुमिकास्थान समृद्धिको आधार भएकोले यसको व्यवसायिक विकासमा जुट्न नागरिकलाई नगरप्रमुख थापाले अपिल गर्नुभएको हो ।
भुमिकास्थान–९ ढिकुरा चौताराटोल स्थित प्रगतिशील मिश्रित कृषक समुहले लगाएको व्यवसायिक प्याज खेतीको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बितरणमुखी बजेटको निरुत्साहित गर्न आवधिक योजना तय गरेको भुमिकास्थानले अबदेखि वैज्ञानिक तथा दिगो योजनामुखि बजेटको व्यवस्थापन गर्ने नगरप्रमुख थापाको उद्घोष छ ।
कृषक समुहका अध्यक्ष दधिराम घिमिरेको अध्यक्षता, सह–सचिव कृष्ण प्रसाद घिमिरेको स्वागत मन्तव्य र सचिव जीवन घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान–९ का वार्डअध्यक्ष खेमराज चुदाली, योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसाल, कृषिशाखा प्रमुख राम बहादुर थापा र पत्रकार महासंघका जिल्ला कोषध्यक्ष रुद्रमणी भुसाल लगायतले मन्तव्य राख्दै अबको कृषि आयातलाई रोक्नेगरी गर्नुपर्नेमा जोड दिनुभएको भुमिकास्थानका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनले जानकारी दिनुभएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा भुमिकास्थानका लेखा अधिकृत जुना पाण्डे, सूचना प्रबिधि अधिकृत चिरन भुसाल, रोजगार संयोजक पुष्कर मिश्र लगायतको आतिथ्यता रहेको थियो । ढिकुराको चौतारामा बस्ने २१ घरधुरीले नगरपालिकाको ५ लाख र आफुहरुको ५ लाख गरि १० लाख रुपैयाँको लागतमा प्याजखेती गरेका हुन् । ३० टन प्याज उत्पादन गर्ने लक्ष्य राखेका ति कृषकहरुले १ सय रोपनी जग्गामा ५० किलो बिउको प्याज रोपेको प्रगतिशिल मिश्रित कृषक समुहका सचिब जिवन घिमिरेले बताउनुभएको छ ।