ओलीमाथि जातिवादी आक्रमणको राष्ट्रिय जनमोर्चाद्वारा विरोध

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि जातिवादीहरूले गरेको आक्रमणको विरोध गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० वैशाख १६ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले उक्त घटनाको विरोध गरेको हो ।

राजमोले १ नं. प्रदेशको नाम ‘कोशी’ गरिएकोमा समर्थन गरिएको बताउँदै वक्तव्यमा सङ्घीयताले राष्ट्रिय विखण्डन गर्ने विचार व्यक्त गरिएको छ ।

वक्तव्यमा यथाशीघ्र सङ्घीयताको खारेजी तथा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पू्र्ण पाठ :
“१ नं. प्रदेशको नामकरण ‘कोशी’ प्रदेश गरिएकोमा त्यसका विरोधी जातिवादीहरूले गत २०८० वैशाख १३ गते झापामा आयोजित आमसभामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गरेकोमा राष्ट्रिय जनमोर्चाले विरोध गर्दछ ।

सङ्घीय संरचना स्थापना भएको ६ वर्षपछि १ नं. प्रदेशले ‘कोशी’ प्रदेशको रूपमा नाम पाएकोमा हाम्रो सङ्गठनले पहिले नै समर्थन गरिसकेको छ । हाम्रो ठहर छ, सङ्घीयताप्रति विरोधको बाबजुद प्रशासनिक एकाइको रूपमा ‘कोशी’ प्रदेश उपयुक्त नाम हो । पूर्वाञ्चल क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विरासतको आधारमा ‘कोशी’ प्रदेश उपयुक्त नाम हो भन्ने प्रष्टै छ ।

हाम्रो सङ्गठनले नेपालको सन्दर्भमा सङ्घीयताको विरोध गर्दै आइरहेको छ । हामीले भन्दै आइरहेका छौँ, सङ्घीयता—त्यसमा पनि जातीय सङ्घीयता—ले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ । त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पु¥याउने छ । अहिले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको त्यस्तै दुष्परिणाम हो । ‘कोशी’ प्रदेशको नामकरणको सन्दर्भमा जातिवादीहरूको यस्तो गतिविधिले राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न गर्ने भएकाले हाम्रो सङ्गठन यथाशीघ्र सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।”

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार