
अर्घाखाँची । चौपायामा लाग्ने लम्पीस्किन रोगको भयावह अर्घाखाँची नियन्त्रणमा आएको पशु भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख बिष्नु प्रसाद पौडेलले बताउनुभएको छ। जिल्लाका छ वटै पालिकामा रोगको संक्रमण भएता पनि हालका दिन सम्म नियन्त्रणमा ल्याइसकेको उहाको भनाइ छ।
यो समाचार तयार पार्दा सम्म अर्घाखाँची जिल्लामा ६२८० चौपाया संक्रमित भएको मा जम्मा १३७ पशु मरेका छन भने अन्यको उपचार भैसकेको छ । यो रोगबाट सबै भन्दा बढी शितगंगा नगरपालिकामा ३००० र सबै भन्दा कम मालारानी गाउँ पालिकामा १६५ पशु संक्रमित भएको पशु सेवा बिज्ञ केन्द्रका प्रमुख पौडेलले बताउनुभयो । पौडेलका अनुसार सबै भन्दा कम छत्रदेवमा ५ वटा र सबै भन्दा बढी पाणिनिमा ३४ वटा पशु यो रोग बाट मरेका छन । हाल सम्म सन्धिखर्कमा २५० ,भुमिकास्थानमा १२६५ ,शितगङ्गामा ३००० ,पाणिनिमा १२०० छत्रदेवमा ४०० र मालारानीमा १६५ जनावर् सन्क्रमित भएका हुन ।
के हो लम्पीस्किन ?
क्याप्री पक्स भाइरसको संक्रमणबाट बिशेषगरी गाई र गोरुमा लाग्ने यो रोग भैँसीमा भने कम मात्रामा देखिने गरेको छ । अफ्रिका महादेशमा उत्पति भएको यो रोग सन् २०१२ पश्चात् मध्यपूर्व, दक्षिणपूर्वी युरोप हुँदै सन् २०१९ मा एशियाको बंगलादेश चीन लगायत भारतमा समेत फैलिएको थियो ।
नेपालमा २०७७ सालको साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । त्यसपश्चात नेपालका ७ वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ । किसानका अनुसार यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ । गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखापर्छ ।
लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरूले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । वर्षात्मा बढी देखिने यो रोग रोगी पशुहरूको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट सर्न सक्छ । संक्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पाइएको छ ।